सोलुखुम्बु – एक नगरपालिकासहित ८ स्थानीय तह रहेको सोलुखुम्बुको ३ पालिकाको कार्यालयमा मात्रै सुरक्षित स्तनपान कक्ष रहेको पाइएको छ । जिल्लाको सोलुदुधकुण्ड नगरपालिका, थुलुङ दुधकोशी गाउँपालिका र माप्यदुधकोशी गाउँपालिकामा मात्रै स्तनपान कक्ष भएको पाइएको हो ।
सरकारी, गैरसरकारी वा निजी संघ संस्थाले आफ्नो कार्यालयमा कार्यरत महिलालाई शिशु जन्मेको दुई वर्षसम्म कार्यालय समयमा आमाको दूध खुवाउनका लागि आवश्यक व्यवस्था मिलाउनुपर्ने कुरा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ मा उल्लेख छ । तर यहाँको ५ वटा पालिकाको कार्यालयमा स्तनपान कक्ष नभएको पाइएको छ ।
जिल्लाको नेचासल्यान गाउँपालिका, सोताङ, महाकुलुङ, खुम्बु पासाङ ल्हामु र लिखुपिके गाउँपालिकाको कार्यालयमा कक्ष नभएको सम्बन्धित पालिकाले जनाएको छ ।
सरकारी वा निजि संस्थाले अनिवार्य स्तनपान कक्ष राख्नुपर्ने कानुनी व्यवस्था भएपनि यहाँका अधिकांश सरकारी कार्यालयहरुमा सुरक्षित स्तनपान कक्ष छैन भने स्थानीय सरकारले समेत त्यसतर्फ ध्यानदिन सकेको छैन् । जसका कारण सुरक्षित स्तनपानका लागि आमाहरुलाई समस्या हुने गरेको बताइएको छ ।