जिल्ला अस्पताल फाप्लुमा एक सुत्केरीको ज्यान गयो

  सुबास दर्नाल
36.7k Shares

सोलुखुम्बु- सोलुखुम्बुको जिल्ला अस्पताल फाप्लुमा एक सुत्केरीको ज्यान गएको छ । ज्यान गुमाउनेमा जिल्लाको माप्यदुधकोशी गाउँपालिका ३ खास्तापकी ३१ वर्षीया रुष्मा राई रहेको जिल्ला अस्पताल फाप्लुले जनाएको छ ।

निमित्त अस्पताल प्रमुख सानी शेर्पाका अनुसार बुधबार बेलुका ६ बजेर ४५ मिनेटमा सफल अप्रेसन मार्फत छोरीलाई जन्म दिएकी राईको राती करिब २ बजे ज्यान गएको हो ।

अप्रेसनमा सङ्लग्न चिकित्सक डा.सुरेन्द्र शाक्यका अनुसार सुत्केरी राईमा एम्नोटिक फ्लुइड इम्बोग्लिजमका कारण फोक्सोमा समस्या आएर ज्यान गएको हो ।

आमाको पेट भित्रै दिशा सेवन गरेका कारण आकस्मिक अप्रेसन मार्फत निकालिएको शिशुको पनि छातीमा समस्या देखिएको डा. शाक्यले बताउनुभयो ।

जिल्ला अस्पताल फाप्लुमा अप्रेसनपछि सुत्केरीको ज्यान गएको यो पहिलो घटना भएको अस्पताल प्रशासनले जनाएको छ ।

मृतकको शव आज बिहिवार बिहान परिवारले बुझेका छन् भने शिशुको अस्पतालमै उपचार भइरहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार