लुक्ला र फाप्लु विमास्थलमा १२ बजेपछि जहाज उडाउन नपाउने नियम हट्यो

  हिमाल समाचार
1.3k Shares

सोलुखुम्बु – नेपाल नागरिक उड्ययन प्राधिकरणले सोलुखुम्बुको लुक्ला र फाप्लुसहितका दुर्गम क्षेत्रका विमानस्थलमा मध्यन्न १२ बजेपछि उडान भर्न प्रतिबन्ध गरिएको नियम हटाएको छ । प्राधिकरणको आज बिहिबार बसेको बैठकले दुर्गम भेगका विमानस्थलमा मध्यन्न १२ बजेपछि जहाज उडानमा लगाएको रोक हटाएको हो ।

अब प्राधिकरणले तोकेको समयभन्दा अतिरिक्त उडान गर्नुपर्दा चालक दलले लिखित घोषणा गरे पुग्नेछ । यसअघि छोटो धावनमार्ग भएका पहाडी भेगमा प्राधिकरणले दिउँसो १२ बजेपछि उडानमा रोक लगाएको थियो । तर हिमाली तथा पहाडी जिल्लामा विरोधपछि प्राधिकरणले उडानको नियमलाई खुकुलो बनाएको हो ।

यस्तै उडानलाई थप सुरक्षित र व्यवस्थित बनाउन अब अतिरिक्त समयका लागि चालक दल स्वयमले जिम्मेवारी लिनु पर्नेछ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार अब उडान सञ्चालन गर्नुपूर्व गन्तव्य, हवाई मार्ग र वैकल्पिक विमानस्थलमा भएको मौसमको भिजिविलिटी कायम भएको सुनिश्चित गरी प्रमुख चालक र डिस्प्याचरको लिखित घोषणा पश्चात मात्र उडान अनुमति दिइनेछ । तर, चालक दल र त्यसमा पनि पाइलट इन कमाण्ड पूर्ण रुपमा सन्तुष्ट नभएसम्म भने कुनै पनि उडानको अनुमति नदिने प्राधिकरणले स्पष्ट पारेको छ ।

नेपालगञ्ज विमानस्थलबाट साना विमानस्थलमा उडान गर्ने वायुसेवा कम्पनीले नेपालगञ्ज विमानस्थलमा अब अनिवार्य रुपमा फ्लाइट अपरेशन अफिसर राख्नु पर्ने प्राधिकरणको नियममा उल्लेख छ । पहाडी भेगका विमानस्थल र सबै साना विमानस्थलको सञ्चालन समय पुनरावलोकन तथा ‘इनरुट वेदर’बारे अध्ययन गर्न प्राधिकरणका उपमहानिर्देशकको संयोजकत्वमा एक उच्चस्तरीय समिति गठन गरिएको छ ।

सामान्यतय लुक्लामा विहानदेखि बेलुका सम्म नै अप्रेसन आवर मानिन्छ । तर फाप्लुका लागि भने नोबेम्बर १६ देखि फ्रेब्रवरी १८ सम्मलाई विहान ६ बजेदेखि मध्यन्न १२ः३० बजे सम्म र त्यस भन्दा बाहेकको महिनामा विहान ६ः३० देखि मध्यन्न १२ः३० बजेको समयलाई अप्रेसन आवरको रुपमा तोकिएको नेपाल नागरिक उड्ययन प्राधिकरण फाप्लुका प्रमुख भानुभक्त आचार्यले जानकारी दिनुभयो ।

प्राधिकरणले ३ महिनाका लागि कम सिट क्षमताका जहाज र हेलिकोप्टर उडान हुने विमानस्थलमा निर्धारित समयभन्दा अघिपछि उडान गर्न रोकेको थियो । तर बिहिबारबाट भने नियम हटेको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।

सम्बन्धित समाचार-

प्राधिकरणले तोक्यो लुक्ला र फाप्लुसहितका विमानस्थलमा उडान समय

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार