खोटाङमा तिब्र रुपमा फैलिदै आँखा पाक्ने रोग, अधिकांश संक्रमित बालबालिका

  दिपेन्द्र खनाल
231 Shares

सोलुखुम्बु – खोटाङ जिल्लामा आँखा पाक्ने संक्रमण तिब्र रुपमा फैलिएको छ । जिल्लाको अधिकांश स्थानीय तहमा आँखाको संक्रमण फैलिएको स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ । संक्रमित हुनेमा अधिकांश बालबालिका छन् । प्रारम्भिक अभिलेख अनुसार हाल सम्म १ हजार जना भन्दा बढीमा संक्रमण देखिएको सरकारी तथ्यांक छ ।

जिल्लाको सबैभन्दा धेरै जनसंख्या भएको पालिका दिक्तेल रुपाकोट मझुवागढी नगरपनलिकामा हालसम्म ३५० जना भन्दा बढी विद्यार्थीमा आँखा पाक्ने संक्रमण देखिएको जनस्वास्थ्य निरीक्षक खेमराज आचार्यले बताउनुभयो । उहाँका अनुसार नगरपालिकामा आँखा पाक्ने समस्या देखिएपछि केही विद्यालयहरु बन्द नै गरिएको छ । नगरपालिकाले यसको रोकथामका लागि विद्यालयहरुमा सचेतनामुलक कार्यक्रम गरिरहेको उहाँले बताउनुभयो ।

हलेसी तुवाचुङ नगरपालिकामा पनि आँखा पाक्ने रोगले समस्या सृजना गरेको स्वास्थ्य शाखा प्रमुख प्रकाश घिमिरेले बताउनुभयो । हलेसी तुवाचुङ नगरपनलिकामा १५० भन्दा बढी नागरिकहरु प्रभावित भएको उहाँको भनाई छ । ऐसेलुखर्क गाउँपालिकामा भने संक्रमणको अवस्था सामान्य रहेको छ भने जन्तेढुंगा गाउँपालिकामा १५० भन्दा बढीमा संक्रमण पुष्टि भएको पालिका स्वास्थ्य शाखा प्रमुख सुर्य बहादुर कार्कीले बताउनुभयो ।

पालिकाको प्राथमिक अस्पतालमा दैनिक ५ जनासम्म आँखा पाक्ने समस्या लिएर आउने गरेको जनाइएको छ । बराहपोखरी गाउँपालिकामा केही समय अघि ३ सय ५० जना भन्दा बढी नागरिकमा संक्रमण देखिएको थियो । यद्यपी अहिले संक्रमण नियन्त्रण भईसकेको पालिका स्वास्थ्य शाखा प्रमुख इन्दिरा कार्कीले बताउनुभयो ।

केपिलासगढी गाउँपलिकामा पनि आँखाको संक्रमण तिब्र रुपमा फैलिरहेको स्वास्थ्य शाखा प्मुख शिव कुमार राईले बताउनुभएको छ । जिल्लाको दिप्रुङ चुईचुम्मा, साकेला, बराहपोखरी, जन्तेढुंगा लगायतका पालिकाहरुमा पनि आँखाको संक्रमण फैलिरहेको बताइएको छ ।

तराई तथा राजधानी काठमाण्डौँबाट फर्किएका व्यक्तिहरुको माध्यमबाट संक्रमण फैलिएको हुन सक्ने अनुमान गरिएको छ । आँखा पाक्ने रोग सरुवा रोग भएकाले एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्ने भएकाले विशेष सावधानी अपनाउन चिकित्सकको सुझाव छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार