सोलुखुम्बुको बोल्दो पुलमा पहाडसहितको पहिरो खस्यो, बेनी हाईड्रोमा क्षति, बस्तीमा सन्त्रास !

  सुबास दर्नाल
1k Shares

सोलुखुम्बु – सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ३ बोल्दोमा गएको पहिरोका कारण बेनी हाईड्रोपावरको संरचनामा क्षति पुगेको छ । शनिबार राती बोल्दो पुल छेउमा माथिबाट पहाडसहित खसेको पहिरोका कारण १९.८ मेगावाटको बेनी हाईड्रोपावरको ट्रान्समिसन लाईनमा क्षति पुगेको हो ।

पहिरोले हाईड्रोपावरको ट्रान्समिसन लाईनको एक नम्बर टावर नै क्षति ग्रस्त बनेको आयोजनाका प्लान्ट म्यानेजर देवदत्त दुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार ठुला-ठुला ढुंगासहितको पहिरोले आयोजनाको अन्य विद्युतीय उपकरणहरुमा समेत क्षति पुगेको छ ।

साथै पहिरोका कारण सल्लेरी–तामाखानी सडक अन्र्तगत बोल्दो स्थित सोलुखोला माथिको मोटरेबल पक्की पुलमा समेत क्षति पुगेको छ भने आवतजावत समेत ठप्प बनेको छ । सडकको माथिल्लो भागबाट पहाडसहित झरेको पहिरोले पैदल यात्रा गर्न समेत नमिल्ने गरी सडक पुरै अवरुद्ध भएको छ भने पुलमा तामाखानी तर्फको भागमा क्षति पुगेको सोलुदुधकुण्ड नगरपालिका ३ का वडाध्यक्ष ल्हाक्पा गेलु शेर्पाले बताउनुभयो ।

रातको समयमा पहाडसहित पहिरो खसेपछि बोल्दो क्षेत्रका बासिन्दामा सन्त्रास फैलिएको स्थानीय दावा तामाङले बताउनुभयो । पहिरोले बोल्दो क्षेत्रको घरहरुमा कम्पन सृजना गरेपछि स्थानीयबासीमा भागाभागकै स्थिती सृजना भएको स्थानीयले बताएका छन् ।

साथै माथिबाट झरेको ठुलो ढुंगा सोलुखोला छेउमै रहेको बेनी हाईड्रोपावरको ट्रान्समिसन लाईनको टावरमा नरोकिएको भए सोलुखोला नै थुक्न सक्ने सम्भावना रहेको तामाखानीका शन्त बहादुर मगर(र्‍याविट)को भनाई छ । खोला थुनिएको खण्डमा बोल्दो क्षेत्रका करिब १० घर परिवार डुबानमा पर्न सक्ने सम्भावना रहेको मगरले बताउनुभयो ।

पहिरोले सडक अवरुद्ध भएपछि जिल्लाकै प्रसिद्ध धार्मिक स्थल तामाखानी लोदिङ स्थित ज्वालामाई मन्दिर जाने मुख्य मार्ग बन्द भएको छ । मन्दिरमा दैनिक दर्जनौको संख्यामा भक्तजनहरु पुग्ने गरेको भएपनि पहिरोले समस्या सृजना गरेको पुजारी वीर बहादुर मगरले बताउनुभयो । साथै मन्दिर जान फाप्लु, खोलाघारी हुँदै तामाखानी जोडिएको सडक बैकल्पिक रुपमा प्रयोग गर्न आग्रह गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार