सोलुखुम्बु – सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिकामा टाइफाइड संक्रमण बढेको पाइएको छ । पछिल्लो केहि दिन यता स्वास्थ्य संस्थामा टाइफाइडको बिरामीहरुको संख्या बढ्दै गएको महाकुलुङ प्राथमिक अस्पतालले जनाएको छ । महाकुलुङ प्राथमिक अस्पतालका प्रशासन शाखा इन्चार्ज बसन्त राईका अनुसार अहिले हप्तामा १० जनासम्म टाइफाइडको समस्या लिएर अस्पताल आउने गरेका छन ।
अधिकांश विरामीहरुमा बालबालिका रहेको अस्पतालले जनाएको छ । टाइफाइड रोग फोहोर पानीका कारण आन्द्रमा हुने संक्रमणका कारण लाग्ने रोग भएकोले वर्षायाममा पानी प्रयोग गर्दा निर्मलिकरण गरेर वा उमालेर मात्र पिउन स्वास्थ्यकर्मीहरुले सुझाएका छन । साथै राम्रोसँग पकाएको खाना मात्र खाने र खानेकुरालाई छोपेर राख्ने, बासी सडेगलेका र झिङ्गा भन्केको खाना नखाने, सफा चर्पीको प्रयोग गर्ने, टाइफाइडविरुद्धको खोप लगाउने जस्ता सावधानी अपनाउन चिकित्सकको सुझाव छ ।
टाइफाइड भनेको सालमोनेला टाइफी र प्याराटाइफी भन्ने ब्याक्टेरियाको संक्रमणले हुने एक प्रकारको रोग हो। ढल वा संक्रमित व्यक्तिको दिसामा पाइने टाइफाइड रोगको जीवाणु स्वस्थ व्यक्तिमा दुषित खाना वा पानीको माध्यमबाट हुने गर्दछ। जुनसुकै उमेरका व्यक्तिलाई लाग्ने भएतापनि विशेष गरी १५ वर्ष मुनिका बालबालिकामा धेरै संक्रमण हुने गरेको पाइएको छ ।
टाईफाईड हुँदा उच्च ज्वरो आउने, जाडो हुने, पसिना आउने, पेट दुख्ने, टाउको दुख्ने, जिउ दुख्ने, जिब्रोमा सेतो लेत लाग्ने, सुरुवाती अवस्थामा पखाला चलेर पछि कब्जियत देखिने, भोक नलाग्ने, वाकवाकी लाग्ने, कलेजो र फियो सुन्निने जस्ता लक्ष्यण देखिने चिकित्सकहरु बताउछन् ।
यसबाट संक्रमण शरीरका विभिन्न भागमा फैलिन गई अन्य अंगमा रोगहरु देखिने, कलेजोमा असर गर्ने, सानो आन्द्रामा घाउ हुनु, रगत बग्नु र प्वाल पर्नु, पेटमा संक्रमण फैलिएर पेरिनोनाइटिस हुने, मुटुमा समस्या देखिने, मिर्गौलामा समस्या देखिने जस्ता जटिलताहरु देखिन सक्नबे बताइएको छ ।