लिखुपिकेका कृषक अलैँची गोडमेलमा व्यस्त

  सलिना लामिछाने
280 Shares

सोलुखूम्बु – सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका कृषकहरु अलैंची गोडमेलमा व्यस्त बनेका छन्् । साउन भदौँमा अलैंचीको पुरानो बोटको काण्ड काट्ने र सफा गर्नुपर्ने भएकाले कृषक गोडमेलमा व्यस्त बनेका हुन् ।

जेठदेखि साउनसम्म बिरुवा रोप्ने काम सकेर अहिले काटछाटमा जुटेको लिखुपिके गाउँपालिका २ गोलीका कृषक सोम बहादुर लामिछानेले बताउनुभयो । यो समयमा गोडमेल गरेर विरुवा हराबरा बनाएको खण्डमा उत्पादन फस्टाउने वडा नम्बर ३ काफ्ले चौउरकी रञ्जना भुजेलको भनाई छ ।

अलैंचीमा मल लगाउँने, पुरानो बिरुवालाई सफा गर्ने काममा व्यस्त रहेको लिखुपिके गाउँपालिका वडा नम्बर ४ का वडा सदस्य प्रेम बहादुर बस्नेतले बताउनुभएको छ । जिल्लामा करिब १५० हेक्टर जमिनमा अलैँची खेती गर्ने गरिएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुको तथ्यांक छ । गत वर्ष जिल्लमा १३० मेट्रिकटन अलैँची उत्पादन भएको कार्यालयका सुचना अधिकारी कुल बहादुर राईले जानकारी दिनुभयो ।

जिल्लाको पश्चिमी भेग लिखुपिकेका कृषकहरुको मुख्य बाली नै अलैँची हो । उनीहरुले अलैँचीबाट आम्दानी हुने भएकाले धान तथा मकै बाली हुने क्षेत्र समेत मासेर व्यवसायिक रुपमा अलैँची खेती गर्दै आएका छन् ।

अलैंचीको व्यावसायिक रुपमा नेपालको पूर्वी पहाडी जिल्लाहरूमा खेती गर्ने गरिन्छ । अलैंची बालीले हल्का छायाँ मन पराउने तथा समुन्द्र सतहबाट ८०० देखि १८०० मिटर उचाई भएको र २००० देखि २५०० मिलिमिटर पानी पर्ने ठाउँहरुमा यसको राम्रोसँग व्यावसायिक खेती गरिदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार