सोलुखुम्बु – सोलुखुम्बुको एक मात्र नगरपालिका सोलुदुधकुण्ड ‘सफा र हरियाली नगर’ अभियानमा थप तिब्रताका साथ जुटेको छ । नगरप्रमुख नाम्गेल जाङबु शेर्पाले ६ वर्ष अघि सुरु गरेका अभियानलाई थप तिब्रता दिइएको नगरपालिकाले जनाएको छ ।
नगर प्रमुख शेर्पाको नेतृत्वमा २०७४ साल भदौमा शुरु भएको सरसफाई सम्बन्धी जनचेतना जगाउने उद्देश्यले बजारक्षेत्रका तत्कालीन जनप्रतिनिधिहरु, सरकारी तथा गरसरकारी संस्थाका प्रमुख, सरकारी कर्मचारी तथा स्थानीय अगुवाहरुकोे सहभागितामा सुरु भएको अभियानले सार्थकता पाउँदै गएको सर्वसाधरणको भनाई छ ।
उक्त समयमा प्ले कार्ड सहित नगरबासीलाई आफ्नो घर वरिपरी सफा राख्न माइकिङ गर्दै शुरु भएको अभियानले दोस्रो कार्यकालमा झनै तीव्रता पाएपछि नगरपालिकाको बजार क्षेत्र सुन्दर बन्दै गएको स्थानीयले बताएका छन् । हिमाली पर्यटनका हिसाबले विश्वसामु परिचित सोलुखुम्बुको सदरमुकाम क्षेत्रमा आफूले चुनावको समयमा नगरपालिकालाई सफा सुन्दर बनाउने उद्घोष गरेअनुसार अभियानलाई सार्थक बनाउन सिङ्गो नगरपालिका लागि परेको नगरप्रमुख शेर्पाले बताउनुभयो ।
पछिल्लो समय बजार क्षेत्रको व्यवस्थापन तथा सरसफाइले तीव्रता पाएको भन्दै यस कार्यमा समग्र कर्मचारी तथा अन्य सरोकारवालाहरुको अहोरात्र खटाइले बजार सफा तथा व्यवस्थित बन्दै गएको सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कोपिला राईले बताउनुभयो ।
नगरको अभियान सफल पार्न टोल सुधार समितिलाई सक्रिय बनाउँदै सम्पूर्ण बजार क्षेत्रमा फोहोर व्यवस्थापन, वृक्षारोपण तथा वातावरणीय सरसफाईका क्षेत्रमा काम गरिरहेको वातावरण शाखाका कर्मचारी मुना खत्रीले बताउनुभयो । बजाार व्यवस्थापनका अधिकांश काम नगरपालिकाको निर्देशनमा नगर प्रहरीले गरिरहेको सोलुदुधकुण्ड नगरपालिकाका नगर प्रहरी प्रमुख ङवाङठिले शेर्पाले बताउनुभयो । यस कार्यमा छिटपुट बाहेक स्थानीयको समेत राम्रो सहयोग रहेको नगरपालिकाले जनाएको छ ।