सोलुखुम्बु – सोलुखुम्बुको महाकुलुङ गाउँपालिका क्षेत्रमा करिब एक हप्तादेखि सञ्चार सेवा प्रभावित भएको छ । नेपाल टेलिकमको गुदेल स्थित टावरमा खराबी आएसँगै महाकुलुङ क्षेत्रमा एक सातादेखि मोबाईल नेटवर्क प्रभावित भएको हो ।
जसका कारण सो क्षेत्रमा मोबाईल नेटवर्कदेखि फोरजी सेवा समेत अवरुद्ध भएको संवाददाता झलक राईले जानकारी दिनुभयो । उहाँका अनुसार बुङ, छेस्काम, गुदेल लगायतका नागरिकहरु सञ्चार सेवाबाट बञ्चित भएका छन् ।
दिनको समयमा आक्कलझुकल टाउने आउने भएपनि रातको समयमा सेवा ठप्प हुने गरेको प्रयोगकर्ताहरुले बताएका छन् । नेटवर्क अवरुद्ध हुँदा आफन्तसँग कुरा गर्न तथा अतिआवश्यकीय कामहरुका लागि सञ्चार गर्न समेत कठिनाई भएको स्थानीयको गुनासो छ । सोही समस्या सोताङ क्षेत्रमा पनि देखिएको प्रयोगकर्ताहरुले बताएका छन् ।
यता नेपाल टेलिकम ओखलढुंगाले भने विद्युतमा आएको समस्याका कारण सोताङ र महाकुलुङ क्षेत्रको सेवा प्रभावित बनेको बताएको छ । स्थानीय विद्युत प्रयोग गरिरहेकाले लोकल हाईड्रोको पावरमा समस्या आउनसाथ टेलिकमको सेवा अनियमित हुने गरेको कार्यालयले जनाएको छ ।
समस्याको दिगो समाधानका लागि जेनेरेटर जडान गर्नुपर्ने भएकाले भोली मंगलबार सम्ममा जेनेरेटर जडान गरी बुधबारबाट सेवा सुचारु हुने नेपाल टेलिकम ओखलढुंगाका प्रमुख धर्म महर्जनले बताउनुभयो ।