सोलुखुम्बु – नेकपा एमाले सोलुखुम्बुका अध्यक्ष डुफ कुमार बास्तोलाले पार्टीबाट निर्वाचित सांसदहरु जनता माझ पुग्ने बताउनुभएको छ । हिमाल एफ.एम.को कार्यक्रम हाम्रो सरोकारमा कुरा गर्दै अध्यक्ष बास्तोलाले नागरिकको बास्तविक समस्या पहिचान गरी समाधान गर्न सांसद जिल्लाको गाउँ गाउँमा पुग्ने बताउनुभयो ।
एमालेबाट निर्वाचित सांसद किन गुमनाम भए ? भन्ने प्रश्नको जवाफ दिदै उहाँले सांसद गुमनाम भएको नभई संसदमा व्यस्त भएकाले जनता माझ जान नपाएको जिकिर गर्नुभयो । जसलाई मध्यनजर गर्दै केही दिनमा सांसद र जनता कार्यक्रम सोलुखुम्बु एमालेले अघि सार्ने अध्यक्ष बास्तोलाले बताउनुभयो ।
जिल्लामा एमालेबाट निर्वाचित सांसदहरुले जनताको आवाजलाई सदनदेखि सरकारसम्म दरिलो उपस्थिती बनाइरहेकाले आफ्ना सांसदहरु जनसेवामै तल्लिन रहेको दाबी गर्नुभयो । जिल्लामा एमालेबाट निर्वाचित एक प्रतिनिधिसभा सदस्य, एक प्रदेशसभा सदस्य र एक राष्ट्रिय सभा सदस्य गरी ३ जना सांसद रहेका छन् ।
साथै पार्टी अध्यक्ष बास्तोलाले एमालेबाट विजयी भएका स्थानीय सरकार प्रमुखहरुले गरेको कार्यसम्पादन सन्तोषजन रहेको दाबी गर्नुभयो । सुशासन र पारदर्शीताका सवालमा आफ्नो एमालेबाट निर्वाचित पालिका प्रमुखहरुलाई पार्टीले सचेत गराउने भएकाले उनीहरुको कार्यसम्पादन प्रति एमाले सन्तुष्ट रहेको जिकिर गर्नुभयो ।