सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–८ देउसाले काठमाण्डौँबाट ३ दिने घुम्ती सेवा प्रवाह गरेको छ । वडा कार्यालयले गत आईतबारबाट आज मंगलबारसम्म काठमाण्डौँको चावाहिल स्थित सत्कार क्याफेबाट प्रशासनिक सेवा प्रवाह गरेको हो ।
थुलुङ दुधकोशी वडा नम्बर–८ घर भई हाल काठमाण्डौँ बसोबास गर्दै आएका वडाबासीहरुलाई लक्षित गर्दै सुरु गरिएको घुम्ती सेवाबाट १०६ जना लाभान्वित भएको वडाध्यक्ष राजेशबाबु किराँतीले जानकारी दिनुभयो ।
जसमा ६३ जनाले सामाजिक सुरक्षाभत्ता नविकरण, १३ जनाले बैंकिङ सिफारिस, ७ जनाले जग्गा तिरो र ६ जोडीले विवाह दर्ता सेवा लिएका छन् । यस्तै ४ जनाले नाता प्रमाणित, ३ जनाको मृत्यु दर्ता र एक जनाले नाबालक सिफारिस सम्बन्धिको सेवा लिएको वडाध्यक्ष किराँतीले बताउनुभयो ।
सामान्य प्रशासनिक सेवा लिनकै लागि काठमाण्डौँदेखि हजारौँ खर्च गरेर वडा कार्यालयसम्म पुग्नुपर्ने नागरिकलाई घुम्ती सेवाले सहजता प्रदान गरेको वडाध्यक्ष किराँतीको भनाई छ । यस प्रकारको सेवा आवश्यकताको आधारमा समय समयमा प्रवाह हुने वडा कार्यालयले जनाएको छ ।