नागरिकता विवरणको जटिलताबारे सोलुदुधकुण्डले गर्‍यो सरोकारवालासँग छलफल

  हिमाल समाचार
623 Shares

सोलुखुम्बु – सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाले नागरिकतामा देखिने जटिलताका विषयमा सरोकारवाला निकायसँग छलफल गरेको छ । नेपाली नागरिकता वितरणको सिफारिस लगायतका विषयमा देखिने जटिलताका विषयमा आज मंगलबार नगरपालिकाले वडाध्यक्ष र प्रमुख जिल्ला अधिकारीसँग छलफल गरेको हो ।

नगरप्रमुख नाम्गेल जाङबु शेर्पाको संयोजकत्वमा उहाँकै कार्यकक्षमा भएको छलफलमा वडा र नागरिकता जारी गर्ने निकाय विच कसरी समन्वय गरेर अघि बढ्न सकिन्छ भन्ने विषयमा छलफल केन्दिैत भएको थियो । वडा कार्यालयले कानुनी अनविज्ञताका कारण गर्ने गरेका कतिपय सिफारिसका कारण नागरिकले सास्ती खेप्नुपर्ने परिस्थिती रहेकाले यसलाई हल गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले बताउनुभयो ।

छलफलमा वडा अध्यक्षहरुले नागरिकता वितरणमा विभिन्न चुनौतिहरु रहेकोले जिल्ला प्रसासन कार्यालयले सहजिकरण गरिदिनुपर्ने भनाई राखेका छन् । वडाको कतिपय सिफारिसमा आमाको नाम, पति, पत्नीको नाम उल्लेख नहुने, नाता प्रमाणितमा कठिनाई, विभिन्न विवरणहरु अद्यावधिक नहुने जस्ता त्रुटिहरु हुने गरेको बताइएको छ । कतिपय संकास्पद अवस्था प्रशासनले नागरिकता जारी कार्य रोकेको समेत प्रमुख जिल्ला अधिकारी भट्टराईले बताउनुभयो ।

कतिपय अवस्थामा कागजात पुरा नै नगरी नागरिकताको सिफारिस आउने जस्ता समस्याका कारण वडाका जनप्रतिनिधिहरु भविष्यमा समेत अनुसन्धानमा तानिन सक्ने भएकाले ख्याल गर्न प्रजिअ भट्टराईले आग्रह गर्नुभयो । नगरप्रमुख नाम्गेल जाङबु शेर्पाले हरेक नागरिकलाई नागरिकता पाउने अधिकार सुनिश्चित रहेकाले आवश्यक प्रकृया पुरा गरी विना झण्जट नेपाली नागरिकता उपलब्ध गराउनेपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नगरउपप्रमुख गान्धी माया तामाङ, प्रमुख प्रशासकीय अधिकृत कोपिला राई, सहायक प्रमुख जिल्ला अधिकारी सरोज अर्याल, सोलुदुधकुण्ड नगरपलिका वडा नम्बर २ का वडा अध्यक्ष ङ्वाङ ठिले शेर्पा, ३ का वडाअध्यक्ष ल्हाक्पा गेलु शेर्पा, ४ का वडाअध्यक्ष युवास तामाङ, ५ वडाअध्यक्ष मिङमार तामाङ, वडाअध्यक्ष फुर्वा ग्याल्जेन शेर्पा, ७ का कार्यबहाक वडाअध्यक्ष भलाकाजी कार्की र ११ का वडाअध्यक्ष टंक कार्कीको उपस्थीति थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार