सोलुखुम्बुमा झाडापखालाका बिरामीको संख्या बढ्यो

  हिमाल समाचार
140 Shares

सोलुखुम्बु – हिमाली जिल्ला सोलुखुम्बुमा झाडापखालाको बिरामी बढ्दै गएको पाइएको छ । बर्षात सुरु भएसँगै जिल्लाको विभिन्न अस्पतालहरुमा झाडापखालाका बिरामीको संख्या बृद्धि भएको पाइएको हो ।

जिल्ला अस्पताल फाप्लुमा दैनिक २० देखि २५ जनासम्म बिरामी झाडावान्ताको समस्या लिएर आउने गरेको अस्पतालका डाक्टर कविन्द्र राईले जानकारी दिनुभयो । अधिकांश बिरामीहरु बालबालिकाहरु रहेको डा. राईले बताउनुभयो । केही बिरामीहरु भर्ना नै गराएर उपचार गराईरहेको अस्पताल प्रशासनले जनाएको छ ।

जटिल अवस्थामा पुगेपछि मात्रै अस्पताल आउने गरेको डाक्टर सुरेन्द्र शाक्यले बताउनुभयोे । जिल्लाको महाकुलुङ गाउँपालिका स्थित महाकुलुङ प्राथमिक अस्पतालमा पनि झाडापखालाका समस्या लिएर बिरामी आउने गरेको अस्पताल प्रशासन प्रमुख बसन्त राईले बताउनुभयो ।

अस्पतालमा झाडापखाला बाहेक टाईफाईड, रुघाखोकी जस्ता मौसमी बिरामीको संख्या पनि उत्तिकै रहेको प्रशासन प्रमुख राईको भनाई छ । दुधकोशी सामुदायिक अस्पताल मुक्लीमा पनि झाडापखाला, रुघाखोकी, श्वासप्रश्वास जस्ता समस्याको बिरामी बढ्दै गएको बताएको छ ।

कतिपय मौसमी बिरामीहरु अस्पतालमा भर्ना नै गरेर उपचार गराईरहेको अस्पताल डाक्टर अजय चौधरीले जानकारी दिनुभयो । बर्षातको समयमा पानी दुषित हुने भएकाले पिउने पानी निर्मलीकरणमा विशेष जोड दिन चिकित्सकले सुझाव दिएका छन् ।

वर्षातमा पानीको मुहानमा भलबाडीले विभिन्न फोहोरहरु मिसिने भएकाले पानीको शुद्धिकरणमा ख्याल गर्न जिल्ला अस्पताल फाप्लुका डा.सुरेन्द्र शाक्यले बताउनुभयो । साथै यो समयमा बासीसडेगलेका, झिगाँ भन्केको खानेकुरा प्रयोग नगर्न डा. शाक्यले आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार