सगरमाथा क्षेत्रमा पर्यटन आवागमन ८२ प्रतिशतले घटयो

  हिमाल समाचार
1.1k Shares

सोलुखुम्बु – विश्वकै प्रमुख पर्यटकीय गन्तव्य सगरमाथा क्षेत्रमा पर्यटक आवागमन ८२ प्रतिशतले घटेको छ । गत असारको तुलनामा साउन महिनामा ८२.६५ प्रतिशतले पर्यटक आवागमन घटेको सगरमाथा राष्ट्रिय निुकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले जनाएको छ ।

निकुञ्जको तथ्यांक अनुसार गत असारमा १ हजार १ सय ९९ जनाले सगरमाथा क्षेत्र भ्रमण गरेकोमा साउनमा घटेर २ सय ८ जनामा सिमित बनेको छ । जुन प्रतिशतको हिसाबले ८२.६५ र संख्यात्मक हिसाबले ९९१ जनाले कमी हो ।

भ्रमणकर्ता मध्ये अधिकांश विदेशी छन् भने केही संख्यामा आन्तरिक पर्यटकहरु पनि रहेको निकुञ्जका सुचना अधिकारी मनोज कुमार मण्डलले जानकारी दिनुभयो । असार, साउनलाई खुम्बुमा अफसिजन नै मनिएपनि असारमा अफसिजन पर्यटकको आवागमन उत्साहजनक थियो । तर साउनमा भने यो संख्यामा अत्याधिक गिरावट आएको छ ।

साउनमा निरन्तर मौसम प्रतिकुलताका कारण हवाई उडान हुन नसक्दा पर्यटक आवागमन प्रभावित बनेको निकुञ्जले जनाएको छ । मौसम खुलेको समयमा तेन्जिङ हिल्लारी विमानस्थल लुक्लामा उडान तथा अवतरण बाक्लिने गरेको छ ।

जसका कारण निकुञ्ज क्षेत्र प्रवेश गर्ने पर्यटकको संख्या उत्साहजनक हुने गर्दछ । तर मौसममा खराबी आउने वित्तिकै उक्त संख्या घट्ने गरेको सुचना अधिकारी मण्डलले बताउनुभयो ।

साथै नेपाल नागरिक उड्ययन प्राधिकरणले दुर्घटना न्यूनिकरणका लागि भन्दै दुर्गम भेगका विमानस्थलहरुमा उडान तथा अवतरणमा थप नियम लागु गरेका कारणले गर्दा पनि लुक्लाको उडानमा ह्रास आएको विमानस्थल श्रोतले जनाएको छ । वर्षातको समयमा हेलिकप्टर उडानमा समेत प्रधिकरणले कडाई गरेको छ भने जसका कारण खुम्बुको पर्यटक आवागमनमा ह्रास आएको जानकारहरु बताउछन् ।

खुम्बु भ्रमणका लागि आउने पर्यटकहरुले हवाई मार्ग नै प्रयोग गर्ने गर्छन् । लुक्लासम्म सडक नपुगेका कारण केही पर्यटकहरुले मात्रै स्थल मार्गको प्रयोग गर्ने गरेका छन् । सल्लेरीबाट काँडेथामडाँडासम्म कच्ची सडक पुगेको भएपनि वर्षातले सडक जिर्ण हुँदा सल्लेरी–थामडाँडाको यात्रा कष्टकर रहेको यात्रुहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार