सोलुखुम्बु – बाढीका कारण सोलुखुम्बुको दिप्लीघाट स्थित बेलीब्रिज नै ढल्किएको छ । निरन्तरको बर्षातका कारण आएको बाढीका कारण थुलुङ दुधकोशी गाउँपालिका ८ दिप्ली र सोताङ गाउँपालिका १ खोर्दाको सिमानामा रहेको दिप्ली पुल ढल्ने खतरा बढेको हो ।
स्थानीय तुल कुमार लामिछानेका अनुसार बाढीका कारण पुलको मुख्य पिलर तल्लो भागतर्फ ढल्किएको छ भने पुल नजिकै रहेको एउटा जेसिबी, एउटा जेनेरेटर र एउटा सिमेन्ट फिट्ने मिक्चर बाढीले बगाएको छ । खोलामा जलसतह अधिक बढिरहेकाले थुलुङ दुधकोशी ८ तर्फको ३ घर जोखिममा रहेको स्थानीय यसोदा लामिछानेले जानकारी दिनुभयो ।
उहाँका अनुसार खोला नजिकै रहेको केशव राई, मन कुमार राई र पासाङ राईको घर जोखिममा रहेको छ । पुल ढल्किएसँगै जिल्ला सदरमुकाम र कोशीपारीका क्षेत्रहरु सोताङ र महाकुलुङको सवारी आवागमन ठप्प बनेको छ ।
आज विहानबाट पुल ढल्किएपछि कोशी पारी जाने सवारी साधन तथा कोशीपारीबाट सल्लेरी, काठमाण्डौँ लगायतका स्थानका लागि छुटेको सवारी साधनहरु अलपत्र परेको स्थानीयले बताएका छन् ।
सोलुखुम्बु प्रदेश सभा ‘क’का निवर्तमान सांसद उत्तम कुमार बस्नेतको पहलमा निर्माण गरिएको उक्त पुल कोशी पारीका क्षेत्र जाने एक मात्र सडक मार्ग हो ।
पुल बनेपछि खाद्यन्न ढुवानीदेखि आवातजावातमा समेत निक्कै सहज भएको थियो । तर पुल ढल्ने खतरा बढेसँगै स्थानीय चिन्तित बनेका छन् ।