दुधकुण्डमा जनैपूर्णिमा विशेष मेला सुरु

यात्रीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै शिविर सञ्चालन गरिदै ।

  गोमा बस्‍नेत  1204 पटक हेरिएको

धार्मिक तथा पर्यकीय क्षेत्र दुधकुण्डमा मेला भर्नका लागि आजबाट तीर्थालुहरु जान थालेका छन् ।
सोलुखुम्बु जिल्लाको सोलुदूधकुण्ड नगरपालिका वडा नं १ टाक्सिन्दुमा समुद्री सतहबाट ४६३२ मिटरको उचाइमा रहेको दूधकुण्डमा जनैपुर्णिमा विशेष मेला सुरु भएको छ ।

आन्तरिक लगायत विदेशी पर्यटकहरुको घुइँचो लाग्ने यस स्थलमा जनैपूर्णिमा वा धर्म सम्बन्धिको मेलामा आन्तरिक पर्यटकहरुको चाप रहन्छ भने असोज, कात्तिक तथा टे«किङ सिजनमा विदेशीहरुको आवगमन बाक्लो रहन्छ ।

सोलुखुम्बुको सदरमुकाम सल्लेरी हुदैँ टाक्सिन्दुको रिङ्मुसम्म यातायात मार्फत पुग्न सकिन्छ भने त्यहाँदेखि दुधकुण्डसम्म नै पैदल जानुपर्ने हुन्छ । यसको लागि केरुङ पाटी, सरकारी पाटी, कामीडाँडा, गाम्टाङ, जुम्ल्याहाखोला, सानो बेनी, सहस्र बेनी हुदैँ दुधकुण्ड पु्ग्न सकिनेस्थानिय दावा शेर्पाले जानकारी दिनुभयो ।

यहाँ पुग्नलाई सहज होस भनि ठाउँ ठाउँमा अस्थायी होटलहरु भेटिन्छ । धेरै जसो अस्थायी टहरामा होटलहरु रहने हुनाले खानाको राम्रो व्यवस्था भएपनि सुत्नलाई टहरामा स्लिपिङ व्याग र बाक्लो ज्याकेटको चाँजो आगन्तु आफैँले गर्नुपर्ने स्थानिय व्यपसायि डोल्मा शेर्पाको भनाई छ ।

कामेडाँडामा रहेको नुम्बुर रिट्रेट नामक होटलमा भने जुनसुकै समयमा आउने यात्रीहरुलाई राम्रो आवससहितको व्यवस्था रहेको छिरी शेर्पाको भनाई छ । छिरी शेर्पा नुम्बुर रिट्रेटका सञ्चालक हुनुहुन्छ । यात्रीहरुलाई खाना बस्नको राम्रो व्यवस्था दिने हेतुले दाजुभाई मिलेर सो व्यवसायको थालनी गरेको शेर्पाले बताउनुभयो ।

यात्रीहरुको स्वास्थ्यलाई ध्यान दिई नेपाली सेना दुर्गा बक्स गण सुरक्षा गुल्म सोलुखुम्बुले जनै पुर्णिमाको अवसरमा दुधकुण्ड जाने भक्तजनलाई लक्षित गरी निशुल्क प्राथमिक स्वास्थ्य शिविर संचालन गरेको छ । निशुल्क प्राथमिक स्वास्थ्य शिविरका लागी मेजर कुल्दिप कुवँरको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली दुधकुण्ड प्रस्थान गरेको छ ।

धार्मिक तिर्थस्थल दुधकुण्ड उच्च स्थानमा रहेकोले भक्तजनहरुको स्वास्थ्य र यात्रा प्रति मध्य नजर गर्दै नेपाली सेना शिविरका साथै उक्त क्षेत्रको सरसफाई समेत गर्ने मेजर कुवँरले बताउनुभयो ।

शिविरमा औषधि सहित स्वास्थ्य कर्मी र अक्सिजनको समेत व्यवस्था गरिएको छ । साथै यसै मेलालाई लक्षित गरि भक्तजनहरुलाई यात्रा सहज गराउन विगत २०६६ सालदेखि नेपाल रेडक्रस सोसाइटीले समेत नियमित शिविर संचालन गर्दै आएको नेपाल रेडक्रस सोसाइटी शाखा सोलुखुम्बुका कोषाध्यक्ष सुरेश खडकाले जानकारी दिनुभयो ।


हिमालको फेदमा अवस्थित यो स्थानमा विशाल ताल रहेको छ । जनैपुर्णिमाको अवसरमा यस स्थानमा नुहाए पूण्य प्राप्त हुने जनविश्वास रहेको छ साथेैे आफ्नो मनोकाङ्क्षा पुरा हुने विश्वास गरिन्छ । यहाँबाट नुम्बुर तथा कर्यालुङ हिमाललाई निल्यान सकिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार