दुधकुण्ड मेला सुरक्षार्थ ७ प्रहरी खटिए

  हिमाल समाचार
1.4k Shares

सोलुखुम्बुको प्रसिद्ध तिर्थस्थल दुधकुण्ड मेला सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ । सोलुदुधकुण्ड नगरपालिका १ स्थित उक्त मन्दिरमा जनैपूणिर्माको अवसरमा लाग्ने मेला सुरक्षार्थ प्रहरी सहायक निरीक्षक(असइ)को कमान्डमा ७ प्रहरी परिचालित भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक(डिएसपी) दिपक श्रेष्ठका अनुसार सोलुदुधकुण्ड नगरपालिकाको माग अनुसार प्रहरी खटाइएको हो । मंगलवार सल्लेरीबाट दुधकुण्डतर्फ प्रस्थान गरेका प्रहरी टोलिले मेलाको सुरक्षाका साथै लेक लागेका तिर्थालुहरुको उद्दार र उपचारमा समेत सहजीकरण गर्ने डिएसपी श्रेष्ठले बताउनुभयो ।

समुद्री सतहदेखि ४ हजार ६ सय मिटरको उचाइमा रहेको दुधकुण्ड मेलामा हरेक वर्ष जनैपूणिर्माको अवसरमा भब्य मेला लाग्ने गर्दछ । यहाँ सोलुखुम्बुसहित विभिन्न जिल्लाहरुबाट श्रदालुहरु पुग्ने गर्छन् । मेला व्यवस्थापनका लागि नगरपालिकाले विशेष चासो दिएको छ भने लेक लागेर बिरामी भएकाहरुको उद्दार र उपचार लगायतका कार्यका लागि नेपाली सेना र रेड्क्रसको टोलि आवस्यक औषधिसहित खटेको बताइएको छ ।

सदरमुकाम सल्लेरीबाट ३० कोस उत्तरमा पर्ने यो कुण्डमा रहेको पानी सेतो देखिने भएकाले यसलाई दुधकुण्ड भनिएको हो। जनैपूर्णिमा मेलामा हिन्दु मात्रै नभइ बौद्धमार्गी, किरातीहरु समेत दुधकुण्ड पुग्ने गर्छन्।

जनैपूर्णिमाको अवसरमा यस स्थानमा नुहाए पुण्य प्राप्त हुने जनविश्वास छ। पोखरीको अर्को छेउमा शिवलिंग छ। बुबाआमा भएकाले पूरै पोखरी नघुम्नु भन्ने भनाइ छ।यो तालको अतिरिक्त यसको आसपास गंगा–जमुना, भुतपोखरी गरी १० वटा स–साना तालसमेत छन्।

पोखरीको सुरुको छेउमा अहिले सानो मन्दिर निर्माण गरिएको छ। यहाँ पूजाआजा गर्न तथा बत्ती बाल्ने प्रबन्ध मिलाइएको छ। पोखरीको नजिकै सानो बुद्धको मूर्तिसमेत छ, जसलाई बौद्ध धर्मावलम्बीहरुले अत्यन्तै श्रद्धाको रुपमा लिने गर्छन्।

यो स्थानसम्म पुग्न पोखरीको वल्लो छेउदेखि लगभग २ घण्टा हिँड्नुपर्छ। यहाँबाट ओरालो झरेपछि विशाल ढुंगाको फेदमा आयु माग्ने स्थान छ, जहाँ पुजा गर्दा आयु बढ्ने तथा गाईवस्तु राम्रो हुने जनविश्वास छ।

जिल्लाको ४ स्थानको मेलाको सुरक्षामा प्रहरी खटिए

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले दुधकुण्डसहित जिल्लाको ४ स्थानको मेला सुरक्षार्थ प्रहरी खटाएको छ । जनैपूणिर्माको अवसरमा लाग्ने मेलाको सुरक्षालाई लक्षित गर्दै प्रहरी परिचालन गरेको प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार फाप्लु फेदिमा रहेको सानो कुण्डमा प्रहरी सहायक निरीक्षकको कमान्डमा ९ जना, पत्ताले स्थित चागेस्थान मेलामा प्रहरी बरिस्ठ नायब निरीक्षकको कमान्डमा ५ जना र थुलुङ दुधकोशी गाउँपालिका ७ स्थित जालिममा प्रहरी सहायक निरीक्षकको कमान्डमा ६ जना प्रहरी खटिएका छन् ।

फोटो: फायल

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार