सोलुखम्बु—खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको एक विद्यालयले आफ्नै अगुवाइमा करिव १० किलोमिटर सडक मर्मत गरेको छ । हलेसी तुवाचुङ नगरपालिका ९ सल्लेको जनता माध्यमिक विद्यालयले जनै पुर्णिमामा सार्वजनिक विदाको अवसर पारेर नगरपालिकाको वडा नम्बर ९ सल्ले देखि वडा नम्बर १० अर्खौले सम्मको करिव १० किलामिटर सडक विहिबार मर्मत गरेको हो ।
मनसुनको समयमा आएको निरन्तरको वर्षातले क्षतविक्षत बनाएको उक्त सडक खण्डको अधिकांसको भुभाग पहिरोले अवरुद्ध भएको थियो । विहिबार स्थानिय स्तरमा उपलब्ध श्रोत, साधन र जनशक्ती परिचालित भई सडक खण्ड मर्मत गरिएको विद्यालय श्रोतले जनाएको छ । विद्यालय आवतजावतमा विद्यार्थी अभिभावक शिक्षहरु समेतलाई सडक अवरुद्ध भएर असहज हुनेभएकोले सल्लेका स्थानिय, जनप्रतिनिधी, कर्मचारी र विद्यालयका शिक्षक लगायतको सकृयातामा सडक सरसफाइ तथा मर्मत गरिएको शिक्षक लक्ष्मीप्रसाद खनालले जानकारी दिनुभयो ।
विद्यालयले समय समयमा अवरुद्ध सडक खुलाउन श्रमदानको अभियान सञ्चालन गरिरहेको उल्लेख गर्दै शिक्षक खनालले कितावि ज्ञान मात्र विद्यार्थीका लागी प¥याप्त नहुने भएकाले श्रमसंस्कृतिको जग बसाल्नका लागी पनि विद्यालयबाट अभियानको प्रारम्भ भएको बताउनुभयो । पछिल्लो समय विकासका लागी जनसहभागिता र जनश्रमदान अभिन्न पाटोको रुपमा देखिदै गरेको स्थीति भएकाले आउने पुस्ताले यो संस्कृति अवलम्बन गरुन भन्ने संदेश विद्यालयले दिन चाहेको खनाल बताउनुहुन्छ ।
आफ्नो गाउँ आफै बनाउ भन्ने मुलमन्त्रलाई श्रमदान अभियानसँग जोडेर निरन्तर अगाढी बढाइने विद्यालयका प्रधानाध्यापक तुलाचन्द्र राईको भनाई छ । सडक मर्मत तथा सरसफई अभियानका लागी स्थानिय निर्माण व्यावसायि महाबिर राईले ट्याक्टर उपलब्ध गराउनु भएको छ । उक्त सडक मर्मत तथा सरसफई श्रम अभियानमा स्थानिय जनप्रतिनिधी, वडाका कर्मचारी,यातायात व्यावसायि लगायत सरोकारवाला स्थानियहरु ६० भन्दा बढीको उपस्थीति जुटेको शिक्षक खनालको भनाई छ ।