सोलुखुम्बु– सोलुखुम्बु जिल्लामा दातृ निकायको अहिलेसम्मकै ठूलो लगानीमा प्राविधिक शिक्षालय बन्ने भएको छ । समाजसेवी निमा शेर्पाको पहलमा फ्रान्सेली दातृ निकाय सोलुच्यामको मुख्य आर्थिक लगानीमा सदरमुकाम नजिकै रहेको गार्मामा प्राविधिक शिक्षालय बन्न लागेको हो ।
३ करोड ७१ लाखको लागतमा बन्ने नुम्बुर प्राविधिक तालिम केन्द्रको शुक्रबार सोलुदुधकुण्ड न.पा वडा नम्बर ७ मा आयोजित एक कार्यक्रममा नगरप्रमुख नाम्गेलजाङ्बु शेर्पा र संस्थाका अध्यक्ष निमा शेर्पाले संयुक्त रुपमा शिलान्यस गर्नु भएको हो ।
फ्रान्सेली दातृ निकायको ७० प्रतिशत र सोलुदुधकुण्ड नगरपालिकाको ३० प्रतिशत लगानीमा २ वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरि शिलान्यास गरिएको छ । ७ रोपनी क्षेत्रफलमा बन्ने २ वटा सुविधा सम्पन्न भवनमा आवासीय सुविधा सहितका कक्षाकोठाहरु हुने छन् ।
सिटिईभिटिबाट सम्बन्धन लिएर तत्कालको लागि ईलेक्ट्रिसियन, प्लम्बिङ र कार्पेन्टर गरि ३ वटा विधामा तालिम दिईने छ । शिलान्यास पछि वडा कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नगरप्रमु्ख नाम्गेल जाङ्बु शेर्पाले नगरपालिकाले युवाहरुलाई सिपमुलक बनाउँदै रोजगारी सिर्जना गर्नका लागि शिक्षालयमा लागत साझेदारी गरेको बताउनु भयो ।
आफ्नो प्राथमिक्ता युवा रोजगारी सृजना गर्नु रहेको भन्दै मेयर शेर्पाले यो तालिम केन्द्रबाट दक्ष जनशक्ति उत्पादन भई व्यापक रोजगारी सृजना हुने बताउनु भयो । नगरपालिकाको चौतर्फि विकासमा आफु लागि परेको भन्दै मेयर शेर्पाले शिक्षा, स्वास्थ्य र सडक जस्ता आधारभुत कुराको गुणस्तरीय विकासमा ठूलो प्रगति भएको बताउनु भयो।
नुम्बुर प्राविधिक शिक्षालयका अध्यक्ष निमा शेर्पाले आफु विगत २३ वर्षदेखि समाजसेवाको क्षेत्रमा रहेको भन्दै जिल्लाको अहिलेको शिक्षा क्षेत्रको आवश्यक्तालाई ध्यानमा राखेर प्राविधिक धारको शिक्षालय स्थापना गरेको बताउनु भयो । अध्यक्ष शेर्पाले यसको दिगो संचालनको लागि भने स्थानीय सरकारले दरिलो साथ दिनु पर्ने आवश्यक्ता औँल्याउनु भयो ।
कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिकाका उपमेयर गान्धिमाया तामाङले प्राविधिक शिक्षालयको स्थापना पछि युवाहरुको सीप विकास हुने भएकाले वैदेशिक रोजगारीमा जाँदा समेत सहज हुने धारणा राख्नु भयो ।साथै सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले आजको आवश्यक्तानै दक्ष जनशक्ति उत्पादन रहेको भन्दै नुम्बुर प्राविधिक शिक्षालयले सिंगो जिल्लामा दक्ष र रोजगारमुलक जनशक्ति उत्पादनमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्नु भयो ।
सोलुखुम्बु बहुमुखि क्याम्पसका प्रमुख उद्धवकुमार शर्माले जिल्लामा नौलो धारको शिक्षालय स्थापना गरेर ऐतिहासिक काम गरेको भन्दै समाजसेवी शेर्पाको प्रशंसा गर्नु भयो । उहाँले अल्पकालिन समयमा दक्ष जनशक्ति उत्पादनको लागि ठूलो टेवा पुग्ने बताउनु भयो ।
उक्त कार्यक्रममा नगरपालिकाका पुर्व उपमेयर कल्पना राईले यो शिक्षालयले बढ्दो बेरोजगारी समस्या समाधानमा योगदान गर्ने धारणा राख्नु भयो ।
वडा नम्बर ६ का वडा अध्यक्ष आङफुर्वा शेर्पाले प्राविधिक शिक्षालयको स्थापनासँगै नगरपालिकाको विकासमा महत्वपूर्ण टेवा थपिएको बताउनुभयो ।
साथै वडा नम्बर ७ का का.वा. वडा अध्यक्ष भलाकाजि कार्र्कीले प्राविधिक शिक्षालय निर्माणको लागि वडाबाट भरपुर सहयोग गर्ने बचन दिनु भयो । त्यसैगरी
जीवनज्योती माध्यामिक विद्यालय नेलेका प्रधानाध्यापक प्रभुराम बस्नेतले अबको युग विज्ञान र प्रविधिको भएकाले व्यवसायीक धारको शिक्षामा जोड दिनु उचित भएको बताउनु भयो ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख, जिल्ला प्रहरी प्रमुख, नेपाली काँग्रेसका उपसभापति फुदोर्जी शेर्पा लगायत जनप्रतिनिधि समेतको उपस्थिती थियो ।