पुस्तकालय दिवसको अवसरमा वृहत साहित्यीक गोष्ठी सम्पन्न

मा. वि.स्तरिय कविता प्रतियोगिता सम्पन्न

  गोमा बस्‍नेत
161 Shares

चेतना विस्तार सार्वजनिक पुस्तकालय नेचासल्यानको आयोजनामा ‘ वृहत साहित्यीक गोष्ठी तथा माध्यमिक विद्यालय स्तरिय कविता प्रतियोगिता ’ सम्पन्न भएको छ । १६ औं राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा शुक्रबार सो कार्यक्रम गरिएको हो ।

चेतना विस्तार सार्वजनिक पुस्तकालय संचालक समितिका अध्यक्ष छबिलाल बाँस्तोलाको अध्यक्षता तथा नेचासल्यान गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत युवराज पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा स्थानीय साहित्य प्रेमी तथा सर्जकहरुले आ – आफ्नो रचना वाचन गरेका थिए ।

‘ पुस्तकालयको महत्व र यसको आवश्यकता ’ शिर्षकमा भएको माध्यमिक तह स्तरिय कविता प्रतियोगितामा नेचासल्यान गाउँपालिकाका विभिन्न विद्यालयबाट ९ जना छात्रछात्राहरुले सहभागिता जनाएका थिए । उक्त प्रतियोगितामा वि.पि. संस्कृत माध्यमिक विद्यालयका सन्तोष कोइराला प्रथम,  केदार माध्यमिक विद्यालयकी सबिता कटेल द्वितीय र  हिमाल दर्शन माध्यमिक विद्यालयकी सगुन राउतले तृतीय स्थान प्राप्त गरेका थिए ।

साथै वि.पि. संस्कृत माध्यमिक विद्यालयका पेशल ढुङ्गाना, संजना नेवार साथै श्री केदार माध्यमिक विद्यालयकी उर्मिला कटेलले सान्त्वना स्थान हाँसिल गरेका छन् ।उक्त प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हाासिल गर्ने प्रतियोगिहरुलाई क्रमश २ हजार, १ हजार ५ सय, १ हजार र ५ सय नगदको साथमा प्रमाण – पत्र प्रदान गरिएको छ ।

समाजलाई समुन्नत र रुपान्तरण गर्न विभिन्न किसिमका पुस्तक, तथा आधुनिक  प्रविधियुक्त समाज निर्माणको लागि ई – लाईब्ररी समेत संचालन गर्ने उद्देश्यले वि.सं. २०६६ सालमा स्थापना गरिएको उक्त पुस्तकालयमा अहिलेसम्म १० हजार भन्दा बढी पुस्तकहरु रहेका छन् , भने चेतना विस्तार सार्वजनिक पुस्तकालय साहित्य विभागले मासिक रुपमा साहित्यीक गोष्ठी संचालन गर्ने जनाएको छ । उक्त कार्यक्रमका प्रमुख अतिथी युवराज पोख्रेलले भौतिक निर्माणमा मात्र विकास नभई पुस्तकालयको माध्यमबाट सामाजिक, धार्मिक ऐतिहासिक विषयको ज्ञान हुने भएकोले स्थानीय सरकारले सार्वजनिक पुस्तकालय संचालनमा सहयोग गर्ने बताउनुभयो  ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार