दिप्लीघाटमा अस्थायी तुइन निर्माण, प्रभावित जनतालाई निःशुल्क सेवा

  हिमाल समाचार
1k Shares

साेलुखुम्बु –  दुधकोशी पारी फसेका सवारी साधन कोशी तार्न अस्थायी तुइन निर्माण गरिएको छ ।  थुलुङ दुधकोशी गाउँपालिकाको आर्थिक, प्रविधिक सहयोग तथा समन्वयमा तुइन निर्माण गरिएको थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले बताउनुभयो ।

दुधकोशीमा निर्माण गरिएको तुइन मार्फत सवारी साधन तार्ने काम आइतवारबाट सुरु भएको छ । तुइन निर्माण गरिएपछि कोशीपारीका महाकुलुङ र सोताङ यिदुइ पालिकाका लागी आवश्यक खाद्यान्न तथा दैनिक उपभोग्य सामाग्री तार्न सहज हुने विश्वास लिइएको छ ।

तुइनबाट जनताको सबै सामाग्री निःशुल्क ओसारपसार गर्ने व्यवस्थान मिलाइएको थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईकाे  भनाई छ । लगातारको बर्षात पछि दुधकोसी नदीमा आएको बाढीले थुलुङ दुधकोसी र सोताङ जोड्ने दिप्लीघाटस्थित बेलिबृज बगाएको थियो ।

पुल नै बगाइदिएपछि कोशीपारीका पालिका सोताङ र महकुलुङ क्षेत्रमा फसेका ६० भन्दा सवारी साधन तार्ने काम पनि सुरु भएको महाकुलुङ गाउँपालिकाले जनाएको छ । बाढीले पुल बगाएपछि सिधा यातायात सेवा टुटेकाले कोशी पारिका २ पालिकाका जनताभने मारमा परेका छन ।

पुलले सिधा यातायात बिच्छेद भएपछि त्यहाका जनता मुल्यवृद्धिको चपेटामा परेका छन भने आकस्मिक अवस्थाहरुमा यातायात सेवा नपाउने देखिएको छ ।महाकुलुङ गाउँपालिका अध्यक्ष सुर्य कुलुङका अनुसार पुल भत्किएपछि यातायात सेवा अवरुद्ध भएको निहुँमा व्यापारीहरुले व्यापक मुल्यवृद्धि गरिरहेको गुनासो प्राप्त भएको छ ।

उक्त गुनासोहरुलाई सम्बोधन गर्न पालिकाले चाडै बजार अनुगमन गरी जनतालाई अनियन्त्रित मुल्यवृद्धिको भार बोकाउने व्यापारीलाई आवश्यक कारवाही गरिने अध्यक्ष कुलुङले बताउनुभयाे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार