सोलुखुम्बु – सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा कार्यरत कर्मचारीहरुले यस वर्षको निजामती सेवा दिवस बहिस्कार गर्ने घोषणा गरेको छ । नेपाल सरकारले निजामती कर्मचारीहरुका लागि विभेदकारी नीति अंगिकार गरेको भन्दै यस वर्षको दिवस बहिस्कार गर्ने घोषणा गरेका हुन् । गाउँपालिकामा कार्यरत कर्मचारीहरुले आज मंगलबार विज्ञप्ती जारी गर्दै सरकारले स्थानीय तहका कर्मचारीलाई निजामती सेवामा राख्नुको सट्टा स्थानीय सेवा भन्ने भाष्य बनाएर विभेदकारी नीति निर्माण गरेको बताएका छन् ।
निजामती कर्मचारीमा नसमेटुन्जेल निजामती सेवा दिवस नमनाउने उनीहरुको अडान छ । विज्ञप्ती मार्फत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०८० भाद्र ४ गते पत्राचार गर्दै यहि भाद्र २२ गते निजामती सेवा दिवस मनाउन भनेको तर प्रशासनिक संरचनामा संघीय निजामती सेवा, प्रदेश निजामती सेवा र स्थानीय सेवा भनेर स्थानीय तहका कर्मचारीलाई निजामतीको मान्यता नदिएको भन्दै उक्त दिवसका दिन कर्मचारीहरुले कालो पट्टि बाधेर विरोध जनाउने बताएका हुन ।
नेचासल्यानका कर्मचारीले स्थानीय तहका कर्मचारीको वृत्तिविकासको सुनिश्चितता नभएको, सेवा सुविधा रोकिएको भन्दै प्रमुख प्राशासकीय अधिकृत लवुन राई मार्फत ७ बुँदामा विभिन्न माग राख्दै दिवस नमनाउने निर्णय गरेका छन् ।
सरकारलाई ध्यनाकर्षण गराउदै संघीय निजामति ऐन एकिकृत निजामति ऐनको रुपमा ल्याउनुपर्ने, सेवा समुहको आधारमा सरकारी सेवाको प्रवेशद्धार स्थानीय सेवामा मात्र हुनुपर्ने, सरुवा प्र्रणाली सहमतीका आधारमा नभइ अनुमान योग्य चकृय प्रणलीमा आधारित हुनुपर्ने, अन्तर प्रदेश सरुवाको व्यवस्था व्यवस्था संघीय ऐनमा नै खुलाउनुपर्ने, निजामती अस्पतालमा सबै सरकारी कर्मचारीहरुलाई समेट्नुपर्ने, संघ प्रदेश र स्थानीय तहका कर्मचारीहरुको सेवा सुविधा वृत्ति विकास सम्बन्धमा विभेद नभई समान हुनुपर्ने र स्थानिय सेवामा कार्यरत कर्मचारीहरुको पुर्ण सुरक्षाको प्रत्याभुति हनुपर्ने जस्ता माग राख्दै ज्ञापन पत्र पेश गरिएको सहकर्मी धनकुमार ढुंगेलले जानकारी दिनुभयो ।