सोलुखुम्बु – सोलुखुम्बुमा आज ७० वर्षिया एक वृद्धा महिलालाई नागरिकता प्रदान गरिएको छ ।
जिल्लाको माप्यदुधकोशी गाउँपालिका ७ की बासिन्दा खगिमाया राईले जिल्ला प्रशासन सोलुखुम्बुबाट ७० वर्षको उमेरमा नागरिकता प्राप्त गर्नुभएको हो । सानै उमेरमा आमाबुवा गुमाएर टुहुरो भएर वाक शक्ति समेत कम रहेकी अविवाहित महिलालाई वडा अध्यक्षको पहलमा नागरिक्ता दिईएको हो ।
आर्थिक अवस्था समेत कमजोर भएको साथै परिवारको एक मात्र भाइ पनि खुम्बु पासाङल्हामु गाउँपालिकामा कामको सिलसलामा गएर लामो समयसम्म पनि घर नफर्केपछि उनको नागरिकता बन्न नसकेको हो ।
दिदी बहिनी सगँ बस्दै आएकी उनलाई वडा अध्यक्ष सगुजित राईको पहलमा भाईको खोजी गरि दिदीलाई नागरिकता दिलाईएको हो । खगिमाया राईमा नागरिकता पाएसँगै सामाजिक सुरक्षा भत्ता पाईने कुराले खुसि छाएको छ ।
राईलाई वडा अध्यक्षको उपस्थितिमा सहायक प्रमुख जिल्ला अधिकारी सरोज अर्यालले नागरिकता प्रदान गर्नु भएको हो । वहाँले विभिन्न कारणबस उमेर ढल्केर पनि नागरिकता लिन बन्चित भएका नागरिकहरुको पहिचान गर्न सबैमा आग्रह गर्नुभयो ।