नेपाल रेडक्रस सोसाइटीद्धारा सोलुखुम्बुका पर्वतारोही शेर्पा सम्मानित

  हिमाली समाचार
1.7k Shares

सोलुखुम्बु : नेपाल रेडक्रस सोसाइटीको ६१ औँ स्थापना दिवस देशभर विभिन्न कार्यक्रमहरु गरी मनाइएको छ । यसै उपलक्ष्यमा आज नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयकमा विभिन्न कार्यक्रमहरु सम्पन्न भएको छ ।

यसै कार्यक्रमका बिच सोलुखुम्बु सोलुदुधकुण्ड नगरपालिका वडा नंं. १ का पर्वतारोही मिङमार शेर्पालाई विशेष सम्मान गरेको हो । शेर्पाले यसै वर्ष विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरी नेपाल रेडक्रसको झण्डा फहराई रेडक्रस अभियानको विश्वव्यापी प्रचार गर्नु भएकोले उहाँलाई दिवसको अवसरमा सम्मान गरिएको हो । सो कार्यक्रममा उहाँलाई नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष प्राध्यापक सुदर्शनप्रसाद नेपालले आँखी –झ्याल सहितको प्रशंसा पत्र प्रदान गरी सम्मान गर्नु भएको नेपाल रेडक्रस सोसाइटी सोलुखुम्बु शाखाका कोषाध्यक्ष सुरेश खड्काले जानकारी दिनुभयो ।

साथै शेर्पाले पाकिस्तानको माउण्ट केटु पर्वत आरोहण गरी नेपाल रेडक्रसको झण्डा फहराइसक्नु भएको छ ।
त्यस्तै, सोलुखुम्बुमा पनि सोही अवसरमा जिल्ला रेडक्रस शाखा सोलुखुम्बुले शेर्पालाई हौसला स्वरुप विशेष सम्मान गरेको छ । नेपाल रेडक्रस सोलुखुम्बु शाखाको आयोजनामा रेडक्रस जिल्ला शाखाका सभापति रामकाजी श्रेष्ठको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा रेडक्रस सोलुखुम्बुका शाखा , उपशाखा लगायतका अन्य पदाधिकारीहरुको उपस्थिति थियो ।

२०२० साल भाद्र १९ गते विश्व रेडक्रस अभियानको अभिन्न अंगको रूपमा नेपाल रेडक्रस सोसाइटीको स्थापना भएको हो । वि.सं. २०२० साल माघ २४ गते तत्कालीन नेपाल सरकारले जेनेभा महासन्धिहरूमा हस्ताक्षर गरी सम्मिलित भएपछि प्रचलित कानुनअनुसार राष्ट्रभरि कार्य गर्ने गरी नेपाल रेडक्रसलाई सरकारबाट मान्यता प्राप्त भएको थियो । कुनै पनि धर्म, वर्ण, लिङ्ग, वर्ग, जात, जाति, राष्ट्रियता वा राजनीतिक विचारधाराको आधारमा भेदभाव नगरी मानवीय विपत्तिलाई रोक्न वा कम गर्न प्रयास गर्ने नेपाल रेडक्रसको उद्देश्य रहेको छ ।

हाल नेपाल रेडक्रस सोसाइटीको सात वटा प्रदेश समिति, ७७ जिल्ला शाखा, सबै स्थानीय तहमा गरी १ हजार ६ सय ३ उपशाखा, १ सय ३३ सहयोग समिति र ६ हजार ६ सय ३२ जुनियर तथा युवा रेडक्रस सर्कल गरी ८ हजारभन्दा बढी रेडक्रसका निकायहरूको सांगठनिक सञ्जाल रहेको छ । यी सबै निकायहरूमा गरी १२ लाखभन्दा बढी सदस्य र स्वयंसेवकहरू आवद्ध रहेका छन् ।नेपाल रेडक्रस सोसाइटीले नेपाल सरकारको नीति तथा कार्यक्रमअनुरूपका विपद् व्यवस्थापन र स्वास्थ्य सेवा र अन्य सेवामूलक गतिविधिहरूमा सहयोगी भूमिका निर्वाह गर्दछ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार