सोलुखुम्बु – सोलुखुम्बुको नेचासल्यानमा एक दिने निःशुल्क दन्त शिविरको तयारी पूरा भएको छ । वीपी कोइरालाको जन्म जयन्तीको अवसरमा वीपी विचार राष्ट्रिय समाज सोलुखुम्बुले भोलि शुक्रवार सञ्चालन गर्ने नि:शुल्क दन्त शिविरको सबै तयारी पूरा भएको हो ।
ॐ चावहिल डेन्टल हस्पिटलसँगको सहकार्यमा आयोजना गरिएको शिविरका लागि चिकित्सकसहितको सबै टोलि नेचासल्यान आईपुगेको समाजका सदस्य बाबुराम आचार्यले जानकारी दिनुभयो ।
उहाँका अनुसार नेचासल्यान गाउँपालिका ३ मा रहेको हिमाल दर्शन माविमा विशेषज्ञ डाक्टरहरुको उपस्थितिमा हुने शिविरको बिहान ७ बजे नेपाली काङ्ग्रेस पर्यटन विभागका प्रमुख एवं पार्टीका केन्द्रीय सदस्य आङ गेलु शेर्पाले उद्घाटन गर्नुहुने छ ।
दुरदराजका नागरिकहरुलाई लक्षित गरि नि:शुल्क शिविरको आयोजना गरिएकाले मौकाको फाईदा उठान सम्पुर्ण सेवाग्राहीलाई आयोजकले आग्रह गरेको छ ।
शिविरमा दाँत परीक्षण, सफाई, दाँत झिक्ने लगायतका सेवा प्रदान गरिने छ ।बिरामीको चापको आधारमा आवश्यकता परे एक दिन थप गर्न सकिने आयोजकले जनाएको छ ।