सोलुखुम्बु – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पर्यटन विभाग प्रमुख आङगेलु शेर्पाले नेचासल्यानलाई आवश्यक स्वास्थ्य सामाग्री जुटाउन आफु लागिपरेको बताउनुभएको छ ।
आज शुक्रबार सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ३ मा आयोजित निःशुल्क दन्त शिविरको उद्घाटन समारोहमा बोल्दै प्रमुख शेर्पाले नेचासल्यान गाउँपालिकाका स्वास्थ्य संस्थाका लागि आवश्यक स्वास्थ्य सामाग्रीहरुको व्यवस्थापनका लागि आफुले स्वास्थ्य मन्त्रालयसँग पहल गरिरहेको भन्दै आवश्यक स्वास्थ्य उपकरणहरुको प्रबन्ध गर्ने बताउनुभयो ।
उहाँले निःशुल्क दन्त शिविरको आयोजक संस्था बिपि विचार राष्ट्रिय समाज र ऊँ चावाहिल डेन्टल अस्पिटललाई धन्यवाद दिदै शिविरले दुरदराजका नागरिकहरुलाई ठुलो टेवा पुग्ने बताउनुभयो ।
यस्तै नेचासल्यान गाउँपालिका अध्यक्ष धनजन राईले शिविर निःशुल्क भएकाले ग्रामिण भेगका नागरिकहरुलाई ठुलो टेवा पुग्नेमा आफु विश्वास्त रहेको बताउनुभयो ।
गाउँपालिका उपाध्यक्ष राईले दन्त सेवा लिन हजारौँ खर्च गरेर बाहिर जानुपर्ने नागरिकको बाध्यतालाई ख्याल गर्दै शिविरको आयोजना गरिएको भन्दै आयोजकलाई धन्यवाद दिनुभयो ।
शिविरले नागरिकलाई लाभ मिल्ने भन्दै विशेषज्ञसहितका चिकित्सक गाउँमै सेवा दिन आएकाले मौकाको उपयोग गर्न उहाँले आग्रह गर्नुभयो ।
आयोजक संस्था बिपि विचार राष्ट्रिय समाजका जिल्ला अध्यक्ष चन्द्र आचार्यले बि पि बिचार राष्ट्रिय समाजलाई मानवसेवामा जोड्ने उदेश्यका साथ शिविर आयोजना गरिएको बताउनुभयो । शिविरका लागि सहयोग र सहकार्य गर्ने सबै ब्यक्ति तथा संस्थालाई उहाँले धन्यवाद दिनुभयो ।
३ सय बढीले लिए दन्त सेवा
नेचासल्यान गाउँपालिकाको वडा नम्बर ३ स्थित हिमाल दर्शन माविमा आयोजित दन्त शिविरमा यो समाचार तयार पार्दा सम्म ३ सय ४२ जनाले मुख स्वास्थ्य सम्बन्धी सेवा लिएका छन । शिविरबाट दातको उपचार, दात निकाल्ने, सफा गर्ने तथा मुख स्वास्थ्य सम्बन्धी परामर्श लगायतका सेवा प्राप्त गरेको आयोजकले जनाएको छ ।
विपि विचार राष्ट्रिय समाज सोलुखुम्बु तथा ऊँ डेन्टल अस्पताल चावाहिलको संयुक्त आयोजनामा सञ्चालित शिविरको नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पार्टीका पर्यटन विभाग प्रमुख आङगेलु शेर्पाले उद्घाटन गर्नुभएको थियो ।
उद्घाटन समारोहमा नेचासल्यान गाउँपालिकाका अध्यक्ष धनजन राई, उपाध्यक्ष विना राई, वडा नम्बर ३ का अध्यक्ष सिताराम भट्टराई लगायत विभिन्न राजनितिक दलका प्रमुख एवं प्रतिनिधीको उपस्थीति रहेको आयोजक समितिका सदस्य बाबुराम आचार्यले बतउनुभयो । उहाँका अनुसार सिविरमा ४ सय बढीलाई सेवा दिइने लक्ष लिइएको छ ।