सामुहिक प्रयासबाट आत्महत्याको दर घटाउन सकिन्छ : वरिष्ठ मनोविद् थापा

  हिमाल समाचार
84 Shares

सोलुखुम्बु – नेपालमा भयभह बन्दै गएको आत्महत्याको दर घटाउन सामुहिक प्रयास आवश्यक रहेको वरिष्ठ मनोविद् किशोर थापाले बताउनुभएको छ । हिमाल एफ.एफसँग कुरा गर्दै मनोविद् थापाले आत्महत्या मुलुकमै टाउको दुखाईको विषय भएकाले यसको रोकथाममा राज्य मात्र नभई हरेक तह तप्काका व्यक्तिहरु लाग्नुपर्ने बताउनुभयो ।

आत्महत्यालाई रोकथामका लागि सबै भन्दा पहिले मानसिक रोकको समयमै उपचार गर्नुपर्ने भएकाले यसमा राज्यको ठुलो भुमिका रहेको उहाँको भनाई छ । जसलाई सार्थक बनाउन मुलुकका तिनै तहका सरकारदेखि हरेक सचेत नागरिकको भुमिका प्रभावकारी बन्न आवश्यक रहेकोमा मनोविद् थापाको जोड छ ।

अधिकांश आत्महत्यामा असफलता, प्रेममा धोका जस्ता विषयहरु प्रमुख कारणको रुपमा अघि देखिएकाले यसलाई जरैबाट निर्मुल गर्न विभिन्न कार्यक्रमहरु अघि सार्नुपर्नेमा उहाँले जोड दिनुभयो । दिवसका दिन मात्रै केन्द्रीत हुने रोकथामको उपायले उपलब्धी नहुने भएकाले सचेतनामुलक कार्यक्रमलाई वर्षको ३६५ दिननै सकृय बनाउन आवश्यक रहेको उहाँको भनाई छ ।

आज आईतबार विश्व आत्महत्या रोकथाम दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सन् २०२१ देखि सन् २०२३ लाई त्रिवार्षिक रूपमा ‘कर्मद्वारा आशाको सिर्जना’ नारा तय गरी यसवर्ष पनि यही नाराका रुपमा मनाउन लागिएको हो । नेपालमा पनि ‘आशा जगाऔँ, जीवन बचाऔँ’ नाराकासाथ विभिन्न चेतनामूलक कार्यक्रम भइरहेका छन् ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार हरेक वर्ष आत्महत्याका कारण विश्वमा ७ लाखभन्दा धेरैले ज्यान गुमाउने गरेका छन् । झण्डै ९९ प्रतिशत आत्महत्या मानसिक रोगका कारणले हुने गरेको छ । मानसिक रोगमध्ये पनि ९५ प्रतिशत डिप्रेसनका कारण आत्महत्या हुने गरेको पाइएको छ । नेपालमा आत्महत्याको दर बढ्दो रुपमा रहेको प्रहरीको तथ्याङ्कले देखाएको छ ।

आर्थिक वर्ष २०७५/७६ देखि २०७९/८० सम्मको तथ्याङ्कलाई हेर्दा आत्महत्याको दर बढिरहेको देखिन्छ । गएको वर्ष नेपालमा ६ हजार ९ सय ९३ जनाले आत्महत्या गरेको नेपाल प्रहरीको रिपोर्ट छ । प्रहरीको तथ्याङ्कमा किशोर अवस्थामा महिला र प्रौढ अवस्थामा पुरुषले बढी आत्महत्या गर्ने गरेको देखिन्छ ।

किशोर अवस्थामा प्रेममा असफलता, पढाइमा असफलता, घरायसी विवाद आदिको कारण किशोरीले बढी आत्महत्या गरेको हुनसक्ने प्रहरी प्रवक्ता कुबेर कडायत बताउनुहुन्छ । यस्तै, प्रौढ अवस्थामा पुरुषको आत्महत्या दर बढी हुनुमा डिप्रेसन, फ्रस्टेसन अनि आर्थिक कारण हुनसक्ने प्रहरी प्रवक्ता कडायतको भनाइ छ ।

विज्ञका अनुसार विभिन्न चरण पार गर्ने क्रममा एउटा व्यक्तिले आत्महत्या गर्नुभन्दा अगाडि आठ पटक आत्महत्याको कोसिस गरेको हुने र त्यसपछि मात्रै आत्महत्या गर्न पुग्छ । नेपालको स्वास्थ्य बजेटको शून्य दशमलव सात प्रतिशत मात्रै मानसिक स्वास्थ्यमा खर्च हुने गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार