जहाजको पर्खाइमा सोलुखुम्बुका २ विमानस्थल !

  हिमाल समाचार
350 Shares

सोलुखुम्बु – सगरमाथा अवस्थित जिल्ला सोलुखुम्बुको २ वटा विमानस्थल जहाजको पखाईमै सिमित बनेको छ । मुलुककै सबै भन्दा बढी ४ वटा विमानस्थल भएको जिल्लाका २ वटा विमानस्थल वर्षौदेखि उपयोग विहीन बनेको हो । जिल्लामा हाल दुई वटा मात्रै विमानस्थल सञ्चालनमा छन् भने एउटा निर्माणाधीन अवस्थामा रहेको छ ।

तल्लो क्षेत्रको घना बस्तीलाई लक्षित गरी जिल्लामा बनाइएको काँगेलडाँडा विमानस्थल प्रयोगमा नआउँदा करिब एक दशकदेखि गौचरणका रुपमा प्रयोग हुदँै आएको छ । नेचासल्यान, थुलुङदूधकोशी, महाकुलुङ, सोताङ गाउँपालिका तथा खोटाङका केही भागका नागरिकलाई सहजताका लागि कागेलडाडाँमा करोडौँको लगानीमा विमानस्थल निर्माण गरिएको थियो ।

अहिले विमानस्थल रेखदेखका लागि नागरिक उड्डययन प्राधिकरणले सुरक्षाकर्मी भने खटाइरहेको छ । संघीय सरकार मातहत रहेको उक्त विमानस्थल सञ्चालनमा ल्याउन २०७७ साल मंसिर २९ गते ६ वर्षपछि परिक्षण उडान भएको थियो । विमानस्थल सञ्चालनका लागि सो समयमा थुलुङ दुधकोशी गाउँपालिकाले गरेको पहलका कारण तत्कालिन पर्यटन मन्त्री योगेश भट्टराईले स्थलगत निरिक्षण पनि गर्नुभएको थियो । तर उक्त विमानस्थल निरिक्षणमै सिमित बन्न पुगेको छ ।

त्यस्तै, सोलुखुम्बुको व्यस्त पर्यटकीय क्षेत्रमा पर्ने नेपालकै अग्लो स्थानको स्याङबोचे विमानस्थलमा पनि विगत डेढ दशकदेखि हवाई उडान बन्द भएको छ । करिब ६३ वर्ष पहिले नै निर्माण भई सञ्चालनमा आएको उक्त विमानस्थलमा अहिले कुनै पनि हवाई उडान तथा अवतरण हुन सकेको छैन ।

अहिले त्यस विमानस्थललाई हेलिकप्टरले सामान ढुवानीको लागि प्रयोग गर्दै आएको छ । खुम्बु क्षेत्रमा आवश्यक खाद्यान्नलगायत अन्य सामाग्री हेलिकप्टर मार्फत विमानस्थलमा झारिने भएपनि हवाई उडान ठप्प हुँदा स्थानीय यात्रुहरुले आवतजावत गर्न हेलिकप्टरमा महङ्गो भाडा तिर्नु परेको छ ।

स्याङबोचे विमानस्थललाई विस्तार गरेर सञ्चालन गर्न सके लुक्लामा रहेको तेन्जिङ हिलारी विमानस्थलमा हुने उडानको चाप समेत घट्ने नाम्चेका पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताउनुभयो । समुद्री सतहदेखि तीन हजार सात मिटर उचाइमा रहेको यो विमानस्थलमा स्थानीयले विमानस्थल सुचारु गर्न पटक–पटक माग गरे पनि उडान हुन सकेको छैन ।

सगरमाथा राष्ट्रिय निकुञ्जको क्षेत्रमा पर्ने जग्गामा धावनमार्गलाई लम्ब्याएर सञ्चालन गर्न सके खुम्बु क्षेत्रको पर्यटन विकासमा ठूलो टेवा पुग्ने व्यवसायीहरु बताउछन् । जिल्लामा हाल फाप्लु विमानस्थल र लुक्लाको तेन्जीङ हिलारी विमानस्थल सञ्चालनमा छन् भने महाकुलुङ विमानस्थल निर्माणका क्रममा रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार