सोलुखुम्बु – ओखलढुंगामा आफैंले बोकेको झोला पासो लागेर एक वृद्धको ज्यान गएको छ । ज्यान गुमाउनेमा जिल्लाको लिखु गाउँपालिका–६ रातेडाँडाका ६४ वर्षीय कुलबहादुर मगर रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
प्रहरी निरीक्षक विकास राईका अनुसार आइतबार साँझ ५ बजे वडा नम्बर ६ कै मिलनचोकबाट आलु सहितको झोला पिठ्युमा बाकेर फर्किएका मगर चिलाउनेको रुपमा झोलाकै पासो लागेर मृत्यु भएको अवस्थामा फेला परेका हुन् ।
घरभन्दा करिब ५०० मिटर पश्चिम उत्तर तर्फ गोरेटो बाटोबाट लडेका मगर चिलाउनेको रुखको छेउमा लडेको र सोही क्रममा आफैले बोकेको झोला अल्झिएर घाँटीमा पासो लागेको हुन सक्ने प्रहरीको अनुमान छ ।
प्रहरी चौकी गाम्नाङ्गटारबाट खटिएको प्रहरी टोलीले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।