अस्पतालका बिरामीहरुलाई खुवाइयो दर

  हिमाल समाचार
105 Shares

सोलुखुम्बु  :

हरितालिका तिजको अवसरमा ओखलढुंगा सामुदायिक अस्पताल मिसनका बिरामीहरुलाई दर खुवाईएको छ । मेची महाकाली बुहारी संयुक्त आवाज र जिल्ला महिला सुरक्षा जालो ओखलढुङ्गाको संयुक्त आयोजनामा आइतबार अस्पतालमा उपचाररत ७३ जना बिरामीलाई दर खुवाईएको हो ।

अन्य महिलाहरुलाई तिज लागेपनि अस्पतालमा उपचाररत सुत्केरी, गर्भवती लगायतका बिरामीहरुलाई चाडपर्व नलाग्ने भएकाले उनीहरुलाई दर खुवाईएको मेची महाकाली बुहारी संयुक्त आवजकी सदस्य बिमला दाहालले जानकारी दिनुभयो ।

दुवै संस्थाका इच्छुक सदस्यहरुबाट १ हजारका दरले रकम संकलन गरी दर खुवाईएको उहाँको भनाई छ । संस्थाका सदस्यहरुले अरु समयमा पनि सामुहिक रुपमा सहयोग गर्दै आएका छन् ।

उनीहरुले प्रत्येक मासिक बैठकमा ५० का दरले खुत्रुके बचत गरिरहेका छन् । उक्त बचतबाट जम्मा भएको रकमले वृद्ध–वृद्धाहरुलाई औषधी खान सहयोग गर्ने लगायतका सामाजिक कामहरु गर्ने गरेको जनाइएको छ ।

पैसा अभावका कारण स्वास्थ्य बीमाको नविकरण गर्न नसकेकाहरुको बीमा नविकरण गरिदिने जस्ता सहयोगी कामहरु पनि गरिरहेको सदस्य दाहालले बताउनु भयो ।

डक्टरहरुको सल्लाह अनुसार बिरामीले खाना मिल्ने खिर र आलुको तरकारी खुवाइएको हो । जिल्ला समन्वय समिति ओखलढुङ्गाकी उपप्रमुख तारादेवी कार्र्की, जि.स.स सदस्य भिमकुमारी कटुवाल (खत्री )र दुवै संस्थाका महिला सदस्यहरुको उपस्थितीमा दर वितरण गरिएको थियो ।

उपस्थित महिलाहरुले दर वितरण गर्दै बिरामीहरुको शिघ्रस्वास्थ्य लाभको कामना समेत गरेका थिए । दर वितरण गर्दै जि.स.स. उपप्रमुख कार्कीले दान दक्षिणा गर्नु भन्दा पनि यो नजिकिदै गरेको तिजको अवसरमा बिरामीहरुलाई दर वितरण गर्ने कार्य सह्रानिय भएको बताउनु भयो । बिरामीका कारण अस्पतालमा उपचारार्थ बिरामी परिवारका सदस्यहरुबाट टाढा हुने भएकाले यस्ता खालका कार्यक्रमले उहाँहरुको मनोबल उच्च हुने पनि बताउनु भयो ।

खिर बाड्र्दै जिल्ला महिला सुरक्षा जालो ओखलढुंगाकी अध्यक्ष अम्बिका श्रेष्ठले ‘दर सबैले खानुपर्छ र तिजको अवसर बिरामीलाई मानसिक असरबाट पनि केही राहत स्वरुप एकताको भावनाले बिरामीहरुलाई दर खुवाएको बताउनु भयो । ‘एकले थुकी सुकी, सयले थुकी नदी’ भनेझैँ धेरै सदस्यहरुको सहयोगले बिरामीहरुलाई दर खुवाउन सफल भएको श्रेष्ठले बताउनु भयो ।

होटल–होटलमा गएर एक महिना अगाडी देखी दर खाने चलनले समाजमा विकृती बढिरहेको समयमा यस्ता खालका कार्यक्रममले समाजमा सकारात्मक सन्देश प्रवाह हुने भएको नेचासल्यान गाँउपालिकाबाट मिसन अस्पताल आएकी बिरामी कुरुवा सीता काफ्ले खुसी व्यक्त गर्नु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार