सोलुखुम्बु – सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाका जनप्रतिनिधिसहितको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा (खुम्बु) जोड्ने लाईफलाईन सडक खण्डअन्तर्गत अवरुद्ध रहेको ओर्लाङघाट क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् ।
गाउँपालिका अध्यक्ष बुद्दिकिरण राई, उपाध्यक्ष गौरव राई, वडाका जनप्रतिनिधि तथा प्राविधिक सम्मिलित टोलीले मंगलबार सो क्षेत्रको स्थलगत निरीक्षण गरेका हुन् । स्थलगत अवलोकनपछि सडकको भौगोलिक, प्राविधिक अवस्थालाई ध्यानमा राखेर पुनर्निर्माणको काम अभिलम्ब अघि बढाइने अध्यक्ष राईको सचिवालयले बताएको छ ।
वर्षातमा पहिरोका कारण दुधकोशी नदीको ओर्मालाङघाटमा निर्मित माप्य खुम्बु मितेरी मोटरेवल पुल आसपासको सडक भत्किएर सवारी आवतजावत पूर्ण रुपमा अवरुद्ध भएको छ । यद्यपि, सोही नजिकको भोकखोलामा निर्माणाधिन मोटरेवल पुल सम्पन्न नहुँदा चार चक्के सवारी साधन सिधा सम्पर्क अघिल्लो हिउदबाटै टुटेको थियो ।
सो पुलको फाउन्डेसन निर्माण सकिएपनि ट्रस जोडिएको छैन । गाउँपालिका पारी वडा नम्बर १ जुभिङतर्फको सडक पूर्ण रुपमा भत्किएको छ भने वारीतर्फ पनि ठाउँ ठाउँमा सडक पुरिएको छ ।
भौगोलिक अवस्थाका कारण जुभिङ तर्फ अहिले रहेको सडकको चौडा बढाउँने विकल्प खोज्नुपर्ने देखिन्छ । सडक अबरुद्ध हुँदा माप्य दुधकोशी गाउँपालिका वडा नम्बर १ सँगै खुम्बु पासाङल्हामु गाउँपालिकाबासी तथा सगरमाथा क्षेत्र जाने पर्यटकहरु समेत सास्ती खेप्न बाध्य छन् ।