सोलुखुम्बु – सोलुखुम्बु नेपालको पूर्वी जिल्ला अर्थात् प्रदेश नम्बर १ को १४ वटा जिल्लाहरू मध्ये एक जिल्ला हो । जुन कोशी प्रदेशमा अवस्थित एक अत्यन्तै रमणीय पर्यटकीय स्थलहरूमध्ये एक हो । यो जिल्ला पूर्वतर्फ संखुवासभा र भोजपुर जिल्लासम्म फैलिएको छ भने पश्चिममा रामेछाप र दोलखा जिल्ला पर्दछ ।
उत्तर तर्फ चिनको तिब्बतसम्म फैलिएको छ भने दक्षिणमा खोटाङ्ग र ओखलढुंगा जिल्लाको सिमाना पर्दछ । यो जिल्ला तल्लो भाग सोलु र माथिल्लो भागको खुम्बु मिलेर सोलुखुम्बु भनेर नामाकरण गरिएको छ । क्षेत्रफलको हिसाबले हेर्दा यो ३३१२ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।
समुन्द्री सतहदेखि ६०० मिटर उचाइ देखि विश्वको सबैभन्दा अग्लो स्थान ८८४८ मिटरसम्मको उचाइ यहीँ जिल्लामा पर्दछ । जहाँ विश्वको सर्वोच्च शिखर सगरमाथा यहीँ अवस्थित छ । यहाँ ८ स्थानिय तह छन् । जसमध्ये एक नगरपालिका र सात गाउँपालिका मिलेर बनेको छ । यहाँ शेर्पा समुदायको बाहुल्यता रहेको छ भने अन्य जातिहरु राई, तामाङ, क्षेत्री, बाहुन, मगर र दलित वर्गको जातिहरु पनि बसोवास गरिरहेका छन् ।
यहाँका अधिकांश मानिसहरू बौद्ध, हिन्दू, किरात, क्रिस्चियन र अन्य धर्म मान्दछन् भने अधिकांश मानिसहरू कृषि र पर्यटन क्षेत्र, व्यापार व्यवसाय, सरकारी नोकरी तथा विभिन्न पेशामा संलग्न छन् । सोलुखुम्बु जिल्ला एउटा यस्तो स्थल हो जहाँ हजारौँ आन्तरिक तथा बाह्य पर्यटकहरु यहाँका रमणीय ठाउँहरू, हिमालहरु यहाँका अधिकांश डाँडापाखा, छहरा वनजङ्गल, झरना, खोलानाला यहाँका हावापानी र वातावरणको अवलोकन गर्न आएका हुन्छन् ।
यस जिल्लामा ८००० भन्दा माथिका हिमालहरु तथा स–साना पिकहरु पनि प्रशस्तै मात्रामा रहेको छन् । जसले गर्दा पर्यटकहरु यहाँका दृश्य अवलोकन गर्न, हिमाल अरोहण गर्न प्रशस्तै मात्रामा आउने गरेको पाइन्छ । विशेष त सगरमाथा आरोहण गर्न वर्षमा हजारौं पर्यटकहरू भित्रिने गरेका छन् । एक पटक मात्र सगरमाथा आरोहण गर्दा एकजना पर्यटकले लाखौं खर्च गरेको हुन्छ । हजारौँ राजस्व हाम्रो देशलाई बुझाएका हुन्छन् ।
जसले गर्दा हाम्रो देशको आर्थिक विकासमा ठूलो योगदान पुर्याएको छ । देशको आम्दानी स्रोतको ठूलो हिस्सा पर्यटनले धानेको छ । यहाँका अधिकांश मानिसहरूले रोजगार पाएका छन् । यसले आर्थिक, नैतिक, भौतिक, सामाजिक र रोजगारका पक्षहरू सबल बन्नुका साथै विविध क्षेत्रमा टेवा पुर्याएको छ । शिक्षा क्षेत्रमा पनि ठूलो योगदान रहेको छ । विभिन्न विद्यालयहरुमा शैक्षिक सामग्री वितरणदेखि लिएर पठनपाठनमा पनि सहयोग गरेको हामीले प्रत्यक्ष रूपमा देख्दै आएका छौँ ।
गरिब जेहेन्दार विद्यार्थीहरुलाई विविध कार्यक्रमहरु ल्याएको छ । छात्रवृत्तिको कार्यक्रमहरु सञ्चालन गरेका छन् । विभिन्न फाउन्डेसनहरु मार्फत शिक्षा विधामा शैक्षिक, आर्थिक तथा भौतिक पूर्वाधारहरु क्षेत्रमा विकास गरेका छन् । जस्तो नयाँ किसिमको भौतिक संरचनाहरु विद्यालय, होस्टेलहरु निर्माण गरि विद्यार्थीहरु लाई पठनपाठन गर्न सहज वातावरण सिर्जना गरिएका छन् ।
कतिपय शिक्षकहरूलाई रोजगारीको अवसर दिलाएका छन् । मानिसका मुहारमा खुुसी ल्याएको छ । स्वास्थ्य क्षेत्रमा पनि त्यतिकै योगदान रहेको छ । ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा उपलब्ध गराएका छन् । स्वास्थ्य चौकीहरुको स्थापना गरी सम्पूर्ण व्यवस्थासहित निरन्तर सक्रियताका साथ सेवाहरु उपलव्ध गराउँदै आएका छन् ।
विभिन्न भेगमा स्वास्थ्य शिविरहरु सञ्चालन गरी निःशुल्क स्वास्थ्य परीक्षण, उपचार गरी ठूलो पूण्य कर्म सम्पादन गरेको छ । आन्तरिक पर्यटन प्रवद्र्धन गर्न यहाँका अधिकांश डाँडाकाँडा, पिकहरु, वनजङ्गल, नदीनाला, हिमशिखरहरु, राष्ट्रिय निकुञ्ज यहाँको हावापानी, तथा वातावरणको विषेशता बारेमा हामीले विविध किसिमले सञ्चार माध्यममार्फत जानकारीमुलक कार्यक्रमहरु सञ्चालन गर्न सकिन्छ । सुचना सन्देशहरु सम्प्रेषण गरी विभिन्न प्याकेजहरु ल्याउन सकिन्छ ।
सेवा सुविधाको हिसावले पूर्ण रुपले पर्यटकहरुको चाहाना अनुरूप दिलाउन सकिन्छ । भौतिक संरचनाहरु सुविधा सम्पन्न होटल, होमस्टे, खानेपानी, शौचालयहरु निर्माण गरी सेवा सुविधाहरु उपलव्ध गराउन सकिन्छ । यहाँका रमणीय ठाउँहरू, खोलानाला झरना वनजङ्गल तथा हिमालहरुको दृश्य अवलोकन गर्न डाँडाकाँडामा भ्यु टावरको अवधारणाहरु अगाडी बढाई बढी भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकहरु भिœयाउन सकिन्छ ।
जसले गर्दा यहाँका स्थानिय रहनसहन, भेषभुषा, लवाइखुवाइ यहाँका रीतिरिवाज, चालचलन ईत्यादिको पहिचान गराउनका साथै पर्यटकहरुलाई आकर्षित गर्न सकिन्छ । केही नयाँ किसिमको फरकपना महशुस दिलाउन सकिन्छ । सोलुखुम्बु एउटा धेरै किसिमका जातजातिको बसोवास गर्ने थलो हो । त्यसैले यहाँ विभिन्न जातजाति, भाषाभाषी र आ–आफ्नो किसिमका धर्म संस्कृतिहरु मान्दछन् ।
जस्तै बौद्ध धर्मावलम्वीहरुसँग सम्बन्धित गुम्बा विहार, चैत्य र स्तूपा र पुराना धर्मशालाहरुले आफ्नै मौलिक विषेशता र महत्व झल्काएको छ । हिन्दू धर्ममा आधारित मठ, मन्दिर, देविस्थानहरुले आफ्नै पहिचान बोकेका छन् भने अन्य किरात, क्रिस्चियन धर्म संस्कृतिको पनि अत्यन्त लोभलाग्दो सम्पदाहरूहरु छन् जसलाई हामीले संरक्षण, सम्वद्र्धन र जगेर्ना गरी अन्तरिक पर्यटन प्रवद्र्धन गर्न सकिन्छ ।
यस क्षेत्रमा बसोवास गर्ने मानिसहरूले मनाउदै आएका पर्वहरु जस्तै; ल्होसार, डुम्जी, मनिरिम्डु, दशैं, तिहार, साकेला, उँधौली, उँभौली ,चाक्चाकुर जस्ता पर्वहरुको अवसर पारेर विशेष किसिमका कार्यक्रमहरू आयोजना गरेमा पर्यटकलाई आकर्षित गर्न सकिनेछ ।
स्थानीय मूल्य मान्यता तथा यहाँका रीतिरिवाज, चालचलन, सँस्कृतिलाई झल्काउने विभिन्न जातजाति, भाषाभाषीको गीत, नृत्यहरु जस्तै शेर्पाको शेव्रु, सिलि नाच, राईको चण्डी, साकेला सिली, तामाङको सेलो, नेवारको लाखे नाचहरुलाई प्रस्तुत गरि पर्यटकलाई आकर्षित गर्न सकिनेछ ।
देविस्थान मन्दिर, गुम्बामा लाग्ने मेलापात, जात्रा धामी झाक्री नाच, यहाँका लोकभाकाहरु (जस्तै; सै राजा सै सै) गाउँदै नाच्दै रमाइलो गर्दा आहा कति आनन्दमय कति मज्जा भन्दै आन्तरिक पर्यटकहरु मुक्तकण्ठले प्रशंसा गर्दै जानेछन् ।
माथि हेर्दा हिमाल सेतै दन्ते लहर झै टल्किएका ।
तल हेर्यो विविध साँस्कृतिक पहिचान झल्किएका ।।
जताततै हरियाली रमणीय, दृश्यहरु देख्न पाईन्छ ।
ढिँडो, गुन्द्रुक कति मिठो, ग्वाम्म ग्वाम्म खाईन्छ ।।
डाँडा खोलानाला, झरना, वनजङ्गल सधैं सुसाउने ।
डाँफे, मुनाल, कालिज, न्याउलीले गीत यही हो गाउने ।।
कोइलीको सुमधुर भाका, सुसेली हाल्दै गोठालो दाइ ।
शेर्पा, तामाङ, क्षेत्री, बाहुन, नेवार र राई सबै दाजुभाइ ।।
पाहुनाहरु हर्षित हुन्छन, खुशी हुन्छन् हाम्रा सँस्कार देखेर ।
सोलुखुम्बु साच्चै स्वर्गको टुक्रा हो, जानुस् यो धर्ती टेकेर ।।
सोलुखुम्बु एउटा पर्यटकीय गन्तव्यको दृष्टिकोणले अत्यन्तै रमणीय, मनमोहक र सुन्दर शान्त र महत्वपूर्ण स्थल हो । जहाँ सगरमाथाको काखमा रमाउदै यहाँका चराचुरुङ्गीको सुमधुर गीत सुन्दै, मृग, कस्तुरी, गोराल र हिँउ चितुवाको नाच हेर्दै, सिरसिरे हावाको बहावले वनजङ्गल नदीनालाहरु सुसाएको त्यो मिठो आनन्दको अनुभव गर्दै तपाँईको यात्रा सफल रहोस् । शुभकामना
धन्यवाद
लेखक
ल्हाक्पा गेलु शेर्पा
सोलुखुम्बु जिल्ला लोखिम ९ सफर्मा
थुलुङ दुधकोशी गाउँपालिका
सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाले सगरमाथा दिवसको अवसरमा अयोजाना गरेको खुल्ला अनलाइन लेख तथा रचना प्रतिस्पर्धात्मक कार्यक्रम बाट उत्कृष्ट भएका लेख, सस्थाले प्रकाशित स्मारिका २०७९ बाट साभार