सोलुखुम्बुमा चिराइतो निकासी ६० प्रतिशतले बढ्यो

  हिमाल समाचार
161 Shares

सोलुखुम्बु- हिमाली जिल्ला सोलुखुम्बुबाट चिराइतो निकासीमा ६० प्रतिशतले बृद्धि भएको छ । जिल्लाबाट आर्थिक वर्ष २०७८/७९ को तुलनामा गत आर्थिक वर्ष २०७९/८० मा ६० प्रतिशतले चिराईतो निकासी बृद्धि भएको हो ।

डिभिजन वन कार्यालय सोलुखुम्बुको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/७९ मा ५ हजार किलो चिराईतो निकासी भएको थियो भने गत आर्थिक वर्ष २०७९/८० मा जिल्लाबाट १२ हजार ५ सय किलो चिराईतो निकासी भएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा प्रतिशतको हिसाबले ६० प्रतिशत र संख्यात्मक हिसाबले ७ हजार ५ सय किलोले बढी हो ।

जिल्लामा चिराईतो उत्पादन बढेसँगै किनसी पनि बढेको कार्यालयका सुचना अधिकारी मनराज राईले बताउनुभयो । चिराइतो खेती विशेषगरीजिल्लाका टाक्सिन्दु, जुभिङ, बासा, वाकु, पावै, देउसा, सोताङ, गुदेल, नेचाबेतखारी, नेचाबतासे, सल्यान, पञ्चन, तिङला, नेले, मुक्ली, जुवु, भकाञ्जे, गोराखानी, केरुङ लगायतका क्षेत्रमा हुने गरेको छ । औषधीय गुण प्रसस्त हुने चिराइतो जडिबुटीहरु मध्ये महत्वपुर्ण मानिन्छ ।

नेपालमा यसको प्रयोग ज्वरो, दम, रुघाखोकी, मधुमेह, पिसाब पोल्ने, पेटको जुका, सुन्निएको, पोलेको लगायत रोगका लागि घरेलु औषधिका रुपमा समेत प्रयोग गर्ने गरिएको छ । एक हजार पाँच सय मिटरदेखि दुई हजार पाँच सय मिटरसम्मको उचाइको हावापानीमा चिराइतो राम्रोसँग फस्टाउन डिभिजन वन कार्यालय सोलुखुम्बुले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार