सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ५ जुबुको पानीडाँडामै पानीको हाहाकार हुँदा करिब १६ घरपरिवार हैरान भएका छन् । विगत २ वर्षयता सो क्षेत्रमा खानेपानी आपुर्ती ठप्प हुँदा पानीडाँडा र खिप्लीका १६ घर परिवार मर्कामा परेका हुन् ।
यस अघि पानीको मुहान क्षेत्र नै मानिने पानीडाँडा क्षेत्रमा सुकेपोखरी व्यवस्थापनपछि खानेपानीको मुहान नै सुकेको स्थानीय ८२ वर्षीय वृद्ध निर कुमार बस्नेतले बताउनुभयो । गाउँमा खानेपानी अभाव भएपछि करिब २ किलोमिटरको दुरीमा रहेको जंगलको कुवाबाट पानी बोकेर खान बाध्य भएको स्थानीय प्रेम बस्नेतले दुखेसो गर्नुभयो ।
गाउँघर युवाविहीन हुँदा पानीडाँडा क्षेत्रमा पनि वृद्धवृद्धा मात्रै रहेका छन् । जसका कारण पिउने पानीकै लागि झण्डै आधा घण्टाको दुरीसम्म हिड्नुपर्दा समस्या भएको हरि बहादुर बस्नेतले बताउनुभयो । पानीको समस्याका कारण खेतीपातीदेखि पशु पालनका लागि समेत अत्यन्तै असहज भएको स्थानीय मदन तामाङले गुनासो गर्नुभयो ।
स्थानीयले हाल करिब ३ किलोमिटरको दुरीमा रहेको इतल्कु खोलाको पानी बस्तुभाउका लागि प्रयोग गर्दै आएका छन् । सुकेपोखरी व्यवस्थापनको क्रममा पानी पोखरीमा लैजानुपर्दा पानीडाँडा क्षेत्रमा पानी अभाव भएको जुबुका वडाध्यक्ष चन्द्र बहादुर राईले बताउनुभयो ।
समस्या समाधानका लागि पालिका स्तरिय खानेपानी बोर्डले वर्षात सकिए लगतै काम अघि बढाउने गाउँपालिका अध्यक्ष असिम राईले बताउनुभयो । यसअघि पालिकाको पहलमा सो क्षेत्रमा खानेपानी पाईपहरु वितरण गरेपनि स्थानीयबासी कम सकृय हुँदा समस्या निम्तिएको अध्यक्ष राईको भनाई छ ।
सो समस्या समाधानका लागि पालिकाले केहि दिन भित्रैमा प्राविधिकसहितको टोलि खटाएर काम अघि बढाउने अध्यक्ष राईले बताउनुभयो ।