उपेक्षामा सदरमुकाम सल्लेरीकै जनजागृति निमावि ! गएन कसैको ध्यान

  हिमाल समाचार
1k Shares

सोलुखुम्बु – सोलुखुम्बु सदरमुकाम सल्लेरीकै जनजागृति आधारभुत विद्यालय(जजा निमावि) उपेक्षामा परेको छ । सदरमुकामकै विद्यायलय भएपनि भौतिक संरचनादेखि अन्य पुर्वधारमा समेत कम्जोर हुँदा पठनपाठनमा असहजता भएको विद्यालयले जनाएको छ ।

सोलुदुधकुण्ड नगरपालिका ५ मा रहेको यस विद्यालयमा सदरमुकाममा सञ्चालित विभिन्न तालिम, गोष्ठीदेखि अन्य कार्यक्रमहरु समेत सञ्चालन हुने गरेको छ । जिल्लाको केन्द्र र सहजताको हिसाबले धेरै कार्यक्रमहरु हुँदा पहिलो रोजाई नै जनजागृति आधारभुत विद्यालय पर्ने गरेको छ ।

तर सोलुदुधकुण्ड नगरपालिकाको कार्यालयसँगै रहेको यस विद्यालयमा शौचालयदेखि पिउने पानीको समेत समस्या रहेको छ । २५० जना विद्यार्थी अध्ययनरत्त उक्त विद्यालयमा खानेपानीको उचित व्यवस्थापन नहुँदा विद्यार्थीहरु समस्या झेल्न बाध्य बनेको शिक्षिका केशरी श्रेष्ठले गुनासो गर्नुभयो ।

विद्यालय नजिकै खानेपानी मुहान रहेपनि व्यवस्थापनका लागि कसैले ध्यान नदिदा समस्या भएको शिक्षिका श्रेष्ठको भनाई छ । भौतिक संरचनामा समेत विद्यालय कम्जोर हुँदा पठनपाठनमा बाधा पुग्ने गरेको विद्यालयका प्रधानाध्यापक शिव प्रसाद राईले बताउनुभयो । समयसँगै संरचना तथा पठन सामाग्रीहरु प्रविधिमैत्री बन्दै गएपनि आफ्नो विद्यालय भने परम्परागत ढंगकै भर पर्न बाध्य बनेको उहाँको भनाई छ ।

भौतिक संरचनाहरु निर्माणका लागि विद्यालयसँग बजेट नहुने र सम्बन्धित पक्षले चासो नदिदा नगरपालिका केन्द्रकै विद्यालय उपेक्षामा परेको शिक्षक तथा शिक्षिकाहरुको गुनासो छ । पानीको व्यवस्थापन नहुँदा विद्यालयको शौचालय प्रयोग विहीन बनेको छ भने शौचालयहरु दुर्गन्धित हुँदा स्वास्थ्यमा समेत असरा परेको बताइएको छ ।

सदरमुकामको विद्यालय नमुना बनेको खण्डमा अन्य विद्यालयहरुले समेत अनुकरण गर्ने भएकाले यसमा सम्बन्धित निकायले ध्यान दिन शिक्षकहरुले आग्रह गरेका छन् । यता नगरपालिकाले भने नगरपालिकाको कार्यालयसँग रहेको विद्यालयमा ध्यान जान नसकेको स्विकार गरेको छ ।

यद्यपी विद्यालय आफैले पनि कतिपय कार्यहरु गर्न सक्ने भएकाले नगरपालिकाको मात्रै मुख नताक्न मेयर नाम्गेल जाङबु शेर्पाले आग्रह गर्नुभयो । वि.स २०११ सालमा स्थापना भएको उक्त विद्यालयमा हाल कक्षा १ देखि ८ सम्म अध्यापन हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार