चाडपर्वलाई पर्वमै सिमित राखौँ भोजभतेरमा परिणत नगरौँ : उपाध्यक्ष राई

  हिमाल समाचार
3.2k Shares

सोलुखुम्बु – सोलुखुम्बुको नेचासल्यान गाउँपालिका उपाध्यक्ष विना राईले चाडपर्वहरुलाई भोजभतेर गर्ने कार्यक्रमकोे रुपमा विकास नगर्न आग्रह गर्नुभएको छ । सोमबार नेचासल्यान गाउँपालिका ३ मा जमरकट्टेल सेवा प्रतिष्ठान महिला विभागले आयोजना गरेको तिज विशेष कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै उपाध्यक्ष राईले नेपाली मौलिक पर्वहरुलाई पर्वकै रुपमा सिमित राखेर मनाउन आग्रह गर्नुभयो ।

पछिल्लो समय तिजमा पनि दर खाने कार्यक्रमको नाममा विभिन्न भोजभतेर आयोजना गरेर भड्किलो बनाएको भन्ने जनगुनासो बढ्दै गएकाले पर्वलाई मौलिक तवरमा मनाई संस्कृति जगेर्ना गर्न सुझाव दिनुभयो । स्थानीय सरकार र सामाजिक संस्थाहरुले गर्ने हरेक गतिविधिले समाजमा ठुलो अर्थ राख्ने भएकाले विकृतिलाई मलजल गर्ने तवरबाट चाडपर्व नमनाउन आग्रह गर्नुभयो ।

प्रतिष्ठानले विभिन्न मौलिक नाँचहरुलाई संरक्षण गर्न कार्यक्रमको आयोजना गरेको भन्दै यस्ता प्रयासले समाजमा गुम्दै गएको मौलिकता जगेर्ना गर्नमा ठुलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । प्रतिष्ठानमा परिसरमा आयोजना गरिएको कार्यक्रममा कविता लेखन तथा वाचन, पौराणिक संगिनी नाँच र एकल नृत्य प्रतियोगिता आयोजना गरिएको सहकर्मी धन कुमार ढुंगेलले जानकारी दिनुभयो ।

कविता लेखन तथा वाचनमा रिता शर्मा कट्टेल प्रथम, कमला जमरकट्टेल द्वितीय र मिना कट्टेल तृतीय भएका छन् । स्थान ओगट्न सफल प्रतियोगीहरुलाई क्रमश नगद २ हजार ५ सय, २ हजार र १ हजार ५ सय रुपैयाँको साथमा प्रमाणपत्र प्रदान गरिएको छ ।

नेपाली मौलिक संस्कृति जगेर्ना गर्ने अभियानमा जुटेको प्रतिष्ठानले आगामी वर्षको तिजमा पुरस्कारलाई दोब्बर बनाउने महासचिव देवेन्द्र जम्मरकट्टेलले घोषणा गर्नुभयो ।

गाउँपालिका उपाध्यक्ष विना राईको प्रमुख आतिथ्यता तथा प्रतिष्ठानका महिला विभाग संयोजक भबमाया जमरकट्टेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका पदाधिकारीसहित, स्थानीय जनप्रतिनिधिहरु, स्थानीबासी, स्थानीय बुद्धिजीवीहरु लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार