सल्लेरी–माप्य–खुम्बु सडक कालोपत्रेको मेयर शेर्पाद्वारा शिलान्यास, एक्लौटी गरेको भन्दै माप्यदुधकोशीको आपत्ति

  हिमाल समाचार
371 Shares

सोलुखुम्बु – सोलुखुम्बुको सल्लेरी–सिल्गुडीडाँडा–काँकु बासा–वर्लाङघाट–जुभिङ–खरिखोला–लुक्ला–खुम्बु सडक कालोपत्र आयोजनाको शिलान्यास सोलुदुधकुण्ड नगरपालिकाले एकलौटी हिसाबले गरेको भन्दै माप्यदुधकोशी गाउँपालिकाले आपत्ति जनाएको छ ।

संघीय सरकारको ४० करोड ९० लाख ८४ हजार ९ सय ३८ रुपैयाँको लागतमा निर्माण सुरु भएको उक्त आयोजनाको नगर प्र्रमुख नाम्गेल जाङबु शेर्पाले एकलौटी तवरबाट शिलान्यास गरेको भन्दै माप्यदुधकोशीका जनप्रतिनिधिहरुले प्रेस विज्ञप्ति नै जारी गर्दै आपत्ति जनाएका हुन् ।

उक्त आयोजनाको आज बुधबार सोलुदुधकुण्ड नगरपालिकाका नगरप्रमुख शेर्पाले उपप्रमुख गान्धी माया तामाङसहितका व्यक्तिहरुको उपस्थितीमा शिलान्यास गर्नुभएको थियो । तर अन्तरपालिका जोड्ने सडक कालोपत्रेको काममा नगरपालिकाले एकलौटी हिसाबले शिलान्यास गर्नु गलत भएको माप्यदुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले दाबी गर्नुभयो ।

यस अघि सबै ३ वटै पालिकाहरु खुम्बु पासाङ ल्हामु गाउँपालिका, माप्यदुधकोशी गाउँपालिका, सोलुदुधकुण्ड नगरपालिका र जिल्लाका सबै सांसदहरुको उपस्थितीमा संयुक्त रुपमा शिलान्यास गर्ने लिखित सहमती नै भएको थियो ।

जुन सहमतीमा मेयर शेर्पा आफैले समेत हस्ताक्षर गर्नुभउको थियो । तर उक्त सहमतीलाई लत्याउदै नगर प्रमुख शेर्पाले एकलौटी तवरबाट अघि बढेको माप्यदुधकोशी गाउँपालिका अध्यक्ष राईको भनाई छ ।

झण्डै ४१ करोडको बजेटबाट सुरु भएको १५ किलोमिटर सडक कालोपत्रे कार्य सोलुदुधकुण्ड नगरपालिका क्षेत्र (सिल्गुडीडाँडा सम्म) मा ६ किलोमिटर र माप्यदुधकोशी गाउँपालिका क्षेत्रमा ९ किलोमिटर सडक कालोपत्रे हुने जनाइएको छ ।

अध्यक्ष बुद्धिकिरण राईसहित गाउँपालिकाका नौवटै वडाका वडाध्यक्षहरुले संयुक्त विज्ञप्ति प्रकाशित गरी मेयर शेर्पाको उक्त कदमले सडक कालोपत्रे गर्नका लागि पहल गर्ने पक्षहरुको अपमान भएको भन्दै उक्त कदमको भत्र्सना समेत गरेका छन् ।

विज्ञप्तिमा माप्य–खुम्बु मितेरी सडक नामाकरण गरी पूर्व संघीय सांसद हेमकुमार राईले सो सडक निर्माणमा महत्वपूर्ण योगदान गरेको उल्लेख गर्दै जारी विज्ञप्तिमा माप्यदुधकोशी गाउँपालिका, वर्तमान सांसद मानविर राई, राष्ट्रिय सभा सदस्य सोनाम ग्याल्जेन शेर्पा, कोशी प्रदेश सांसद बुद्धिकुमार राजभण्डारी र खुम्बुपासाङ ल्हामु गाउँपालिकाका अध्यक्ष मिङमाछिरी शेर्पाको पहलमा कार्यक्रम स्वीकृत भएको दाबी गरिएको छ ।

पर्यटकीय गन्तव्य समेत रहेको खुम्बु पुग्ने महत्वपूर्ण यो सडकका लागि माप्यदूधकोशी गाउँपालिकाले डिपीआर तयार गरी मन्त्रालयबाट योजना स्वीकृत गराएको तथ्य समेत ओझेलमा पार्ने काम मेयर शेर्पाले गरेको आरोप पनि विज्ञप्तिमा लगाइएको छ । माप्यदूधकोशी गाउँपालिकाले सम्पूर्ण प्रक्रिया पूरा गरी कार्यक्रम शुरु हुन लागेको अवस्थामा निर्माण कम्पनीको स्वीकृतिवेगर आफ्नो नाम राखेर एकलौटी ढंगले शिलान्यासको नाटक गर्नु, विगतमा भएका सहमती र सम्झौता विपरित भएको उल्लेख गरिएको छ ।

आयोजना सञ्चालनका लागि गाउँपालिकासँगै हातेमालो गर्ने पूर्व सांसद राई वर्तमान सांसद मानविर राई, प्रदेश सांसद राजभण्डारी र राष्ट्रिय सभा सदस्य शेर्पाको महत्वपूर्ण योगदानप्रति आभार र धन्यवाद प्रकट गर्दै जारी सो विज्ञप्तिमा अध्यक्ष राईसहित उपाध्यक्ष गौरव राई गाउँपालिकाका सबै वडाका वडाध्यक्षहरुको हस्ताक्षर रहेको छ ।

नगर क्षेत्रमा सोलुदुधकुण्डले शिलान्यास गरेपछि माप्यदुधकोशी क्षेत्र पुगेपछि फेरि शिलान्यास हुने गाउँपालिका अध्यक्ष बुद्धि किरण राईले बताउनुभएको छ । यस सडक खुम्बु जोड्ने सडक भएकाले खुम्बु पासाङ ल्हामु गाउँपालिका, माप्यदुधकोशी गाउँपालिका, संघीय सांसद र प्रदेश सांसद समेतको समन्वयमा फेरि शिलान्यास हुने उहाँको भनाई छ ।

यता नगरपालिका प्रमुख नाम्गेल जाङ्बु शेर्पाले भने आफुले सम्नवय गर्ने प्रयास गर्दा गर्दै माप्यदुधुकोशी गाउँपालिका अध्यक्षले असहयोग गरेको दाबी गर्नुभएको छ । सोलुदुधकुण्ड, माप्यदुकोशी र खुम्बु पासाङ ल्हामु गाउँपालिका जोड्ने सडक भएकाले यसलाई सबैको समन्वय आवश्यक ठानेर पटक–पटक सम्पर्क गर्दा समेत माप्यका अध्यक्ष सम्पर्कमा आउन नचहाएको नगर प्रमुख शेर्पाले बताउनुभयो ।

पालिका उपाध्यक्ष, वडाध्यहरु शिलान्यास कार्यक्रममा ढिला गरी उपस्थित भएपनि पालिका अध्यक्षले सहयोग नगरेको उहाँले बताउनुभयो । यद्यपी शिलान्यास गर्नुमात्रै ठुलो कुरा नभई विकासमा सबै एक भएर जानुपर्नेमा आफु प्रष्ट रहेको नगरप्रमख शेर्पाको भनाई छ ।

तर यता माप्यदुधकोशी गाउँपालिका अध्यक्ष राईले भने उक्त कार्यक्रमका लागि आफुहरु कोहीसँग पनि समन्वय नभएकाले कुनै पनि जनप्रतिनिधि नगएको बताउनुभएको छ । तर मेयर शेर्पाले माप्यका जनप्रतिनिधि पनि कार्यक्रममा आएको भन्नु अर्को झुटको खेती भएको उहाँको भनाई छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार