सोलुखुम्बु : खोटाङको रावा बेसी गाउँपालिका वडा नं २ मा खानेपानीको मुहान संरक्षणको कामलाई तिव्रता दिइएको छ ।
कोइराले आ.वि. मा खेपिरहेको खानेपानीको समस्यालाई मध्यनजर गरी आज शुक्रबारबाट काम सुरु गरिएको छ । वडा नं. २ का अध्यक्ष डोलराज बस्नेतको नेतृत्वमा १४ जनाको टोलि सहित सो कार्य सुरु गरिएको हो ।
कोशी प्रदेशको जलस्रोत तथा जलधार संरक्षण कार्यक्रम अन्तगर्तको योजनामा १ लाख ६० हजारको कुल लागतमा उक्त कार्यको थालनी गरिएको अध्यक्ष बस्नेतले जानकारी दिनुभयो । कोइराले आ.वि. खानेपानी लाने योजनामा विद्यालयले नै सामग्रीहरु खरिद गरेको छ भने विद्यालयका शिक्षक सहित स्थानियहरुले श्रमदान गर्ने जनाइएको छ । खानेपानीको हाहाकार नभए पनि प्रशस्त मात्रमा सबैलाई पुग्न नसकेको कारण यो कार्यको पहल गरिएको जनाइएको छ ।
त्यस्तै, जलस्रोत मु्हान संरक्षणका लागि ३ लाख २४ हजारमा ८ मिटर लम्बाइ र ७ मिटर चौडाइको एक पोखरी , विभिन्न ठाउँमा ४ वटा कुवाँहरु निर्माण भइरहेको अध्यक्ष बस्नेतले जानकारी दिनुभयो । प्रति कुवाँ १ लाख ८ हजार मा निर्माण हुने भएको छ । २०७२ सालको भुकम्प पछि पानीका मुहानहरु उथलपुथल भएर खानेपानीमा थप समस्या आएको हो ।
जलस्रोत तथा पानीका मुहानहरु संरक्षणका लागि कुवाँ , पोखरी , खानेपानीको ट्याङ्की लगायतका कार्यहरु स्थानिय , शिक्षकहरु, जनप्र्रतिनिधि मिलेर सहकार्य गर्दै आएको वडा सचिव दिपेश पोखरेलको भनाई छ ।
यसरी नै सबैजनाको सहकार्यमा विकास निमार्णका कार्यहरु निरन्तर रुपमा गरिने वडा अध्यक्ष डोलराज बस्नेतले बताउनुभयो ।