सोलुखुम्बुको सुर्के–दूधकोसी हाईड्रोपावरको इआइए प्रतिवेदन तयार, कति लाग्छ लागत ?

  हिमाल समाचार
245 Shares

सोलुखुम्बु – समिट पावर कम्पनीले १८८ मेगावाटको सुर्के–दूधकोसी जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले सोलुखुम्बु जिल्ला भएर बग्ने नदीमा पहिचान भएको आयोजना अघि बढाउन लागेको हो । कम्पनीले आयोजनाको वातावरणीय प्रभाव मुल्यांकन (इआइए) प्रतिवेदन तयार गर्ने काम सम्पन्न गरेको छ ।

आयोजनाको संरचनाहरू जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकाको वडा १ र २, माप्य दूधकोसी गाउँपालिकाको वडा नम्बर १, २ र ७ र सोलुदूधकुण्ड नगरपालिकाको वडा नम्बर १ मा निर्माण हुने प्रतिवेदनमा उल्लेख छ ।

आयोजनाको इन्टेक क्षेत्र, कनेक्टिङ टनेल, ग्राभेल ट्रयाप, भूमिगत बालुवा थिग्राउने पोखरी, हेडरेस सुरुङ, सर्ज साफ्ट, भर्टिकल साफ्ट, भूमिगत विद्युतगृह, टेलरेस टनेल लगायतका सम्पूर्ण संरचना दूधकोसी नदीको बायाँ किनारमा प्रस्ताव गरिएको छ । आयोजनाको लागि १०.९६ किलोमिटर लामो सुरुङ निर्माण हुनेछ ।

७ वटा अडिट रहनेछन् । विद्युतगृह भूमिगत रहनेछ । आयोजना सम्पन्न गर्न ३१ अर्ब ४६ करोड ३० लाख रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनाको सबै काम पूरा गरी उत्पादन सुरु गर्न ५ वर्ष लाग्ने कम्पनीले जनाएको छ । आयोजना पूरा भएपछि वार्षिक ११४०.०७५ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ ।

जसमा सुख्खायाममा ३४२.४८२ गिगावाट घन्टा र वर्षायाममा ७९७.५९२ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । उत्पादन हुने विद्युत २२० केभी प्रसारण लाइन मार्फत ६५ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको न्यू खिम्ती सबस्टेसनमा निर्माण हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार