सोलुखुम्बु – विश्व किर्तिमानी पत्रकार भानुभक्त निरौलालाई युवा पत्रकारिता पुरस्कार २०८० बाट सम्मान गरिएको छ । प्रेस काउन्सिल नेपालको ५४ औँ स्थापना दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रमाण–पत्र तथा नगद पुरस्कार सहित निरौलालाई सम्मान गरिएको हो ।
राष्ट्रपति भवन शितलनिवासमा आयोजित बिशेष समारोहमा सञ्चार मन्त्री रेखा शर्मा र काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले सम्मान–पत्र हस्तान्तरण गर्नुभयो । सोलुखुम्बु जिल्लामा जन्मिएर नेपाली सञ्चार जगतमा विगत १७ बर्षदेखि निरन्तर क्रियाशिल पत्रकार निरौलाले विश्वकै सबैभन्दा लामो रेडियो अन्तरवार्ता मार्फत विश्वकिर्तिमानी कायम गरेको बर्षदिनभित्रै अर्को ईतिहास रच्न सफल हुनुभएको हो ।
उहाँ सोलुखुम्बु जिल्लाबाट संचालित हिमाल एफ.एम ९०.२ मेगाहर्जका प्रबन्ध निर्देशक र कान्तिपुर मिडियाग्रुपमा समेत आवद्ध रहि कलम चलाईरहनुभएको छ । निरौलाले पत्रकारिता तथा आम सञ्चार विषयमा पुर्वान्चल विश्वविद्यालयबाट स्नातकोत्तर उतिर्ण गर्नुभएको छ ।
पत्रकारिता मार्फत समाज रुपान्तरणमा सकारात्मक भुमिका निर्वाह गरेको भन्दै काउन्सिलले उहाँलाई युवा पत्रकारिता पुरस्कारबाट सम्मान गरेको हो ।
पुरस्कार तथा सम्मान ग्रहण गर्दै निरौलाले आम सञ्चार माध्यम मार्फत थप जिम्मेवार हुदै समाजमा व्याप्त विकृति, विसंगति र भ्रष्टाचारका विरुद्ध खबरदारी गर्ने बताउनुभएको छ । आम सञ्चार माध्यम राज्यको तेस्रो आँखा र चौथो अंगका रुपमा रहेकाले त्यो दायित्वबाट आफू कत्तिपनि विचलित नहुने उहाँको धारणा छ ।