सोलुखुम्बु – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पर्यटन विभाग प्रमुख आङ गेलु शेर्पाले कोशी प्रदेशमा फेरि कांग्रेसकै नेतृत्वमा सरकार बनाउनुको विकल्प नरहेको बताउनुभएको छ ।
शुक्रवार पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै उहाँले कोशी प्रदेशमा अहिले हिक्मत कार्की नेतृत्वको सरकारले विश्वासको मत पाउन नसक्ने भएकाले फेरि कांग्रेसकै नेतृत्वमा सरकार बनाउनुपर्नेमा जोड दिनुभयो ।
यसअघि कांग्रेस संसदीय दलका नेता उद्धव थापा मुख्यमन्त्री बने पनि अदालतबाट पदमुक्त हुनुभएको थियो । कोशीमा पहिलो दलको हैसियतले अहिले एमालेले सरकारको नेतृत्व गरिरहेकाले अब कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने उहाँको भनाई छ ।
साथै नेता शेर्पाले कांग्रेसले यसअघि सरकार गठन गरेको कुरा गलत नभएको पनि जिकिर गर्नुभयो । एमालेले उपसभामुखलाई षड्यन्त्रपूर्ण ढंगले सदनमा अनुपस्थिति गराएर अघिल्लो पटक अवरोध गरेकाले अब पनि नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउने प्रयास गर्नुपर्ने उहाँले जोडदार माग गर्नुभयो ।
पुर्वमा कम्युनिस्टहरूले जित्दै आएको र गएको पाँच वर्ष पनि कोशीमा नेतृत्व गर्न नपाएको भन्दै कांग्रेसले नेतृत्वका लागि प्रयास गर्नुपर्ने नेता शेर्पाको भनाई थियो ।