सोलुखुम्बु : सोलुखुम्बुको नेचासल्यान गाउँपालिका १ जिम्भिर झोडेनी सामुदायिक वनले ७ हजार बढी बिरुवा रोपेको छ ।
सामुदायिक वनले आफ्नो क्षेत्रमा गत असार यता ७ हजार बोट भन्दा बढी बिरुवा रोपेको जनाएको छ । उपभोक्ता समितिले विमुर, लोड सल्ला, ठिगुरे सल्ला लगाायतका वृक्षरोपण गरिएको सामुदायिक वनका अध्यक्ष डिक बहादुर तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त बिरुवा डिभिजन वन कार्यालय सोलुखुम्बुले उपलब्ध गराएको हो ।
उहाँले भन्नुभयो, ‘देशको कुल भूभागको ३८ देखि ४० प्रतिशतसम्म वनजङ्गलले ओगटेको छ । सही व्यवस्थापन गर्ने हो भने यही ३८ देखि ४० प्रतिशतको अनुपातमा कुल गार्हस्थ्य उत्पादनको अंश बन्न सक्ने र सोहि अनुरुप नै वृक्षरोपणलाई अझै निरन्तरता दिन्छौ ।’
असार १५ र १६ गते तथा साउन १० गते वृक्षरोपण गरिएको थियो । ति बिरुवाहरुको अब केही दिनमै गोडमेल सुरु गरिने सचिव लाक्पा शेर्पाले बताउनु भएको छ ।
कतिपय वन जङ्गलहरु बाहिरबाट जङ्गल देखिए पनि भित्रभित्रै फडानी गरी मैदान भएका छन् । ठूला र राम्रा जातका रूखहरू कमै देखिन्छन् । सोहीलाई सहि उपयोग गर्दै बिरुवा रोप्ने, पुराना र जीर्ण रुखहरु काट्ने, गोडमेल गर्ने, जथावाभी पशु चरिचरण गर्न नदिने लगायतका नियमहरु लागु गरेको सचिव शेर्पाले बताउनुभएको छ ।
वन विज्ञानको सिद्धान्तअनुसार उमेर पुगेका रूख निकाल्ने र निकालेको सङ्ख्याको दोब्बर बिरुवा रोप्ने भन्ने छ । वनजङ्गलसम्बन्धी अनुसन्धान गर्न विभाग या फरेष्ट रिसर्च एण्ड सर्वे विभागकै रूपमा रहेको छ भने प्राविधिक अध्ययनका लागि फरेष्ट टेक्निसियन्स एशोसिएशन अफ नेपालजस्तो संस्था पनि खोलिएका देखिएपनि जङ्गलको भने दुरवस्था रहेको जानकारहरु बताउँछन् ।