सोलुखुम्बु – सोलुखुम्बुको मापयदुधकोशी गाउँपालिका ५ काँकुबाट ४ जना मोतिविन्दुका बिरामी अप्रेसनका लागि छनौट भएका छन् । काँकुको कोफु स्वास्थ्य चौकीमा आज मंगलबार भएको मोतिविन्दु छनौट शिविरमा ९६ जनाले सेवा लिएकोमा ४ जना छनौट भएका हुन् ।
सोमबार प्राथमिक अस्पताल खास्तावमा भएको शिविरमा ८ जना मोतिविन्दुका बिरामी छनौट भएका थिए । शिविरमा १५४ जनाले सेवा लिएकोमा ८ जना मोतिविन्दुको शल्यकृयाका लागि छनौट भएको आँखा कार्यकर्ता दिनेश राईले जानकारी दिनुभयो ।
सोही प्रकृतिको शिविर आगामी विहीबार वाकु स्वास्थ्य चौकीमा सञ्चालन हुने जनाइएको छ । तिनै स्थानको शिविरको गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई र उपाध्यक्ष गौरव राईले सोमबार संयुक्त रुपमा उदेघाटन गर्नुभएको थियो ।
शिविरबाट छनौट भएका मोतिविन्दुका बिरामीलाई शल्यकृयाका लागि माप्यबाट फाप्लुबाट आउने–जाने यातयात खर्च गाउँपालिकाले बेहोर्ने गाउँपालिका अध्यक्ष राईले प्रतिबद्धता जनाउनुभयो ।