कृषि ज्ञान केन्द्र सोलुखुम्बुद्वारा डेढ करोड बढीको कार्यक्रम सार्वजनिक

सोलुखुम्बु – कृषि ज्ञान केन्द्र सोलुखुम्बुले डेढ करोड भन्दा बढी रकमको वार्षिक स्वीकृत कार्यक्रम सार्वजनिक गरेको छ । केन्द्रले चालु आर्थिक वर्ष २०८०/८१ का लागि१ करोड ६१ लाख ३७ हजार बराबरको वार्षिक कार्यक्रम सार्वजनिक गरेको हो । कार्यालयले आज शुक्रबार एक औपचारिक कार्यक्रमको आयोजना गरी अघिल्लो आर्थिक वर्षको कार्यक्रमहरुको समिक्षा तथा चालु आर्थिक वर्षका कार्यक्रमहरु सार्वजनिक गरेको हो ।

स्वीकृत कार्यक्रमहरुमा ४० लाखको मुख्य लक्षित च्याउ, मह, तरकारी उत्पादन कार्यक्रम, २५ लाख बराबरको मुख्य सडक लक्षित तरकारी उत्पादन कार्यक्रम, २५ लाखकै प्रोटेक्टेड हर्टिकल्चर कार्यक्रम, १५ लाखको व्यवसायकि फलफुल बगैँचा स्थापना कार्यक्रम, ३ लाखको रैथाले बाली उत्पादन पबद्र्धन कार्यक्रम रहेको छ ।

यस्तै मागमा आधारित कृषि कार्यक्रममा १० लाख, महिला, दलित, विपन्न तथा पिछडिएको समुदाय लक्षित कार्यक्रममा ८ लाख, सुन्तलाजात बगैंचा व्यवस्थापन एवं सुदृढिकरण कार्यक्रममा ५ लाख, जैबिक बिषादी उत्पादन प्रर्बद्धनमा ३ लाख लगायतको कार्यक्रम स्वीकृत भएको केन्द्रका नि.प्रमुख दुर्गा बहादुर तिरुवाले बताउनुभयो ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख कृष्ण प्रसाद निरौलाले वास्तविक किसान अनुदानबाट अझै बाहिर रहेको दाबी गर्नुभयो । अनुदानलाई व्यवस्थित र उपलब्धिमुलक बनाउन किसान छनौटमा ध्यानुको विकल्प नरहेको उहाँको भनाई छ । सोलुदुधकुण्ड नगरपालिकाका उपमेयर गान्धी माया तामाङले अनुदान छनौटमा दल तथा माथिल्लो ओहोदामा रहेका व्यक्तिहरुबाट दबाव सृजना गर्न नहुनेमा जोड दिनुभयो ।

यस्तै नेचासल्यान गाउँपालिका उपाध्यक्ष बिना राईले ज्ञान केन्द्रले स्थानीय सरकारसँग समन्वय गरेर अघि बढ्न सके अनुदान दोहोरिने सम्भावना कम हुने तर्क गर्नुभयो । यस्तै माप्यदधुकोशी गाउँपालिका उपाध्यक्ष गौरव राईले अनुदानबारे वास्तविक किसानसम्म जानकारी नपुग्दा समस्या भएको बताउनुभयो । थुलुङ दुधकोशी गाउँपालिका उपाध्यक्ष सविता राईले अनुदान दिदा फिल्ड भिजिट आवश्यक रहेकोमा जोड दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले अनुदानलाई प्रभावकारी बनाउन अनुगमनमा जोड दिनुपर्ने बताउनुभयो । अनुदान प्रदान गरेपनि अनुगमन नहुँदा अनुदानले उपलब्धी दिन नसकेको उहाँको भनाई छ । कार्यक्रममा बोल्ने बक्ताहरुले अनुदानका लागि कृषक छनौट गर्दा अत्यन्त ध्यान दिन सुझाव दिएका छन् ।

ज्ञान केन्द्रका प्रमुख दुर्गा बहादुर तिरुवाले भने अनुदान वितरणमा आफुहरु सचेत रहेको बताउनुभयो । आफुहरुले कार्यसम्पादनमा मेहनत गरेकै कारण गत आर्थिक वर्षमा कृषि ज्ञान केन्द्र सोलुखुम्बु कोशी प्रदेशकै पहिलो हुन सफल भएको उहाँको भनाई छ । कोशी प्रदेशको १४ जिल्लाको ज्ञान केन्द मध्ये कार्यसम्पादन तथा प्रदेशमा प्रतिवेशन पेश गर्ने सवालमा सोलुखुम्बुको ज्ञान केन्द्र प्रथम भएकाले प्रदेशले कदरपत्र सहित सम्मान गरेको थियो ।

जिल्ला समन्वय समितिका प्रमुख कृष्ण प्रसाद निरौलाको अध्यक्षता तथा सोलुदुधकुण्ड नगरपालिकाका उपमेयर गान्धी माया तामाङको प्रमुख आतिथ्यतामा ज्ञान केन्द्रको सभाहलमा भएको कार्यक्रममा महाकुलुङ गाउँपालिकाको प्रतिनिधिको रुपमा वडा नम्बर २ का अध्यक्ष प्रदिप राई, जिल्ला स्थित सरकारी कार्यालयहरुका प्रमुख तथा प्रतिनिधि, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेनाका प्रमुख,कृषकहरु लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार