तिङ्लाले पायो सुविधा सम्पन्न वडा कार्यालय भवन

सोलुखुम्बु – सोलुखुम्बुको सोलुदुकुण्ड नगरपालिका ११ तिङ्लाको नवनिर्मित वडा कार्यालय भवनको उदेघाटन गरिएको छ । जिल्ला समन्वय समिति र सोलुदुधकुण्ड नगरपालिकाको ५७ लाख लागतमा रमितेमा निर्माण गरिएको प्रशासनिक भवनको विहीबार जिल्ला समन्वय प्रमुख कृष्ण प्रसाद निरौला र नगरका प्रमुख नाम्गेल जाङबु शेर्पाले उदेघाटन गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्ण प्रसाद निरौलाले विकास निर्माणको सवालमा सक्दो समन्वय गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले तत्कालिन जिल्ला विकास समिति रहदाँदेखि खर्च हुन नसकेको रकमको प्रयोग गरी ६० प्रतिशत जिसस र ४० प्रतिशत नगरपालिकाको लगानीको भवन निर्माण गरिएको जानकारी गराउनुभयो ।

सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले तिङ्लाको विकासमा आफुले कन्जुस्याँई नगरेको दाबी गर्नुभयो । उपमेयर गान्धीमाया तामाङले नयाँ प्रशासनिक भवनबाट छिटो छरितो सेवा पाउने विश्वास व्यक्त गर्नुभयो । वडा नम्बर ११ का वडाध्यक्ष टंक बहादुर कार्कीले तिङ्लावासीको हितमा आफु रात दिन नभनी खटिरहेको जिकिर गर्नुभयो ।

नेपाली कांग्रेस सोलुदुधकुण्डका सभापति तथा सोलुदुधकुण्ड नगरपालिका ७ का वडाअध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले आफ्नै सुविधा सम्पन्न भवनबाट छिटोछरितो र भरपर्दो सेवा प्रवाह हुने अपेक्षा गर्नुभयो । वडा नम्बर ६ का वडाध्यक्ष फुर्वा ग्याल्जेन शेर्पा(फुरी)ले नगरपालिका निरन्तर विकासको गतिमा अघि बढेको दाबी गर्नुभयो ।

वडा नम्बर ८ का वडाध्यक्ष पासाङ कटवालले नयाँ भवनबाट प्रशासनिक सेवा प्रवाह हुँदा सहज हुने बताउनुभयो । कार्यक्रममा नगरकार्यपालिका सदस्य कुलध्वज मगर, नेपाली कांग्रेस तिङलाका सभापति बालकुमार कार्की लगायतले मन्तव्य राख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार