सोलुखुम्बु – सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ३ तामाखानी लोदिङ स्थित ज्वालामाई मन्दिरको मेला सुरु भएको छ । हरेक वर्षको हरिबोदनी एकादशीदेखि पुर्णिमा सम्म लाग्ने उक्त मेला आज विहीबारबाट सुरु भएको हो ।
पाँचदिनसम्म चल्ने मेलाका लागि देविको गहना पहिराइएको छ । हिन्दु, बौद्ध तथा किराँत धर्मको समेत आस्थाको केन्द्र उक्त मन्दिरमा जिल्ला भित्रका साथै देशका विभिन्न जिल्लाहरुबाट दर्जनका लागि भक्तजनहरु पुग्ने गरेका छन् ।
मन्दिरको विकासका लागि नगरपालिकाले समेत आवश्यक बजेट विनियोजन गरि काम अघि बढिसकेको छ भने अन्य संरचनाहरु समेत बन्ने क्रममा रहेको मन्दिर क्षेत्र विकास समितिका अध्यक्ष टेक बहादुर मगरले बताउनुभयो । मन्दिर परिसरमा संरचनाहरु बन्ने क्रममा रहेकाले ठाउँ साँगुरिदै गएको छ भने होटल तथा पसलहरु भने अघिक मात्रामा बढ्दै गएको अध्यक्ष मगरले बताउनुभयो ।
साथै मन्दिरसम्म सडक मार्ग पुगेसँगै भक्तजनहरुलाई समेत धेरै सहज भएको स्थानीय कृष्ण गोपाल राजभण्डारको भनाई छ । बाह्रै महिना सञ्चालन हुने कच्ची सडकले मन्दिर छेउसम्मै छोएसँगै अपांगता भएका, अशक्त तथा बालबालिकाहरु समेत मन्दिर पुग्ने क्रम बाक्लिएको समितिले जनाएको छ ।
विगतमा वार्षिक रुपमा एक पटक मात्रै मेला लाग्दै आएको उक्त मन्दिरमा गत वर्षबाट नयाँ वर्षको अवसरमा पनि मेला लगाउन थालिएको छ ।