सोलुखुम्बु – सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाले पनि लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु गरेको छ । ‘लैंगिक हिंसा अन्त्यको सुनिश्चितताः महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने नाराका साथ आजबाट देशभर सुरु भएको १६ दिने अभियान नगरपालिकाले पनि सल्लेरीमा एक कार्यक्रमका विच थालनी गरेको हो ।
सो अभियान अन्र्तगत सल्लेरीको जेरोपोइन्टबाट सुरु भएको ¥याली सल्लेरी बजार परिक्रमा गरि कोणसभामा परिणत भएको थियो । नगरपालिकाले लैंगिक हिंसा अन्त्यका लागि १६ दिनसम्म गाँउ–गाउँमा पुगेर विभिन्न जनचेतनामुलक कार्यक्रमहरुको आयोजना गर्ने जनाएको छ ।
कार्यक्रमको प्रमुख अतिथिको आसनबाट बोल्दै जिल्ला समन्वय समितिका प्रमुख कृष्ण प्रसाद निरौलाले लैंगिक हिंसालाई जरैबाट उखेलेर फाल्न सबै पक्ष जुट्नुपर्नेमा जोड दिनुभयो । लैंगिक हिंसा विकास र परिवर्तनको बाधक भएकाले सबै मिलेर यसको अन्त्य गर्नुपर्ने प्रमुख निरौलाले बताउनुभयो ।
यस्तै सभाध्यक्षताको आसनबाट बोल्दै सोलुदुधकुण्ड नगरपालिका सामाजिक विकास समिति संयोजक एवं गार्माका वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले लैंगिक हिंसा अन्त्यको नारा नारामै मात्रै सिमित नराखेर व्यवहारमा उतार्न आवश्यक रहेको बताउनुभयो ।
अभियान र दिवसको समयमा मात्रै ठुला ठुला कुराहरु हुने गरेपनि व्यवहारिक कार्यन्वयन फितलो हुने ज्वलन्त उदाहरणहरु रहेकाले यसतर्फ सरोकारवाला चनाखो बन्नुपर्ने उहाँको भनाई छ ।
सल्लेरी स्थित एक होटलमा भएको कार्यक्रममा अन्य जनप्रतिनिधिहरु, प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्री, महिला अधिकारकर्मीहरु, जिल्ला स्थित सबै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।