सोलु पुगेर एमाले सचिव महासेठले भने–वर्तमान सरकार भ्रष्टाचारमा चुर्लुम्मै डुब्यो

सोलुखुम्बु– नेकपा एमालेका सचिव एवं कोशी प्रदेशका पार्टी इन्चार्ज रघुवीर महासेठले अहिलेको सरकार भ्रष्टाचारमा चुर्लुम्मै डुबेको आरोप लगाउनुभएको छ । शुक्रबार प्रेस चौतारी नेपाल सोलुखुम्बुले सल्लेरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव महासेठले वर्तमान गठबन्धन सरकार देशको विकास गर्नमा भन्दा देश लुट्नमा केन्द्रित भएको दाबी गर्नुभयो ।

गठबन्धन सरकार जनताको नजरमा पुर्णरुपमा असफल सावित भइसकेको ठोकुवा गर्दै उहाँले अब मुलुकमा समृद्धि एमालेबाहेक अरुको नेतृत्वमा सम्भव नरहेको बताउनुभयो । धनुषा क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य समेत रहेका महासेठले नेपाली राजनीतिमा पछिल्लो समय विदेशी शक्तिको भरमा नयाँ अनुहार उदायको आरोप लगाउदै उहाँले आउने निर्वाचन सम्ममा उनीहरुको यथार्थ जनता सामु छर्लङ्ग हुने बताउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीप्रति इंगित गर्दै एमाले सचिव महासेठले नयाँ दलले देशको भलो गर्छ भन्ने भ्रममा नपर्न समेत आग्रह गर्नुभयो । एमाले नेतृत्वको सरकारले गरेको विकासका काम देखेर पार्टीप्रति जनताको विश्वास बढ्दै गएको समेत उहाँको भनाइ छ ।

प्रेस चौतारीका जिल्ला सचिव गार्डेन राईको अध्यक्षतामा भएको पत्रकार सम्मेलन कार्यक्रममा पार्टीका केन्द्रीय तथा जिल्ला स्तरका नेताकार्यकर्ता, विभिन्न जनवर्गिय संगठनका पदाधिकारी साथै पत्रकारहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार