‘स्वास्थ्य चौकी मुक्लीका कर्मचारी सामुदायिक अस्पतालमा स्थानान्तरण’, स्थानीय रुष्ट

  हिमाल समाचार
427 Shares

सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले स्वास्थ्य चौकी मुक्लीका स्वास्थ्यकर्मीहरुलाई सामुदायिक अस्पतालमा स्थानान्तरण गरेको भन्दै स्थानीयले असन्तुष्टि जनाएका छन् । गाउँपालिकाले वडा नम्बर ६ स्थित उक्त स्वास्थ्य चौकीमा कार्यरत सरकारी कर्मचारीहरुलाई दुधकोशी सामुदायिक अस्पतालमा पु¥याएर नागरिकलाई सास्ती दिन खोजेको स्थानीयवासीको भनाइ छ ।

जसका कारण घर छेउको स्वास्थ्य चौकीको सेवा प्रभावित बनेको स्थानीय देश बहादुर विकले बताउनुभयो । पाँच जनाको दरबन्दी रहेको स्वास्थ्य चौकी मुक्लीमा कार्यरत्त अधिकांश स्वास्थ्यकर्मी दुधकोशी सामुदायिक अस्पताल मुक्लीबाट हाजिर गराउन थालिएको छ । गाउँपालिका स्तरीय निर्णयबाट गरिएको उक्त कार्यप्रति स्थानीयले असन्तुष्टि जनाएका छन् ।

नागरिकलाई सेवाका लागि सञ्चालित स्वास्थ्य चौकीका सरकारी कर्मचारी सामुदायिक अस्पतालमा पु¥याएर व्यापार गर्न लागेको भन्दै स्थानीयले विरोध जनाएका थिए । अहिले एक जना अहेब दिपा कला राईलाई स्वास्थ्य चौकी मुक्लीमा खटाइएकोे तत्कालिन स्वास्थ्य चौकी इन्चार्ज हेल्थ असिस्टेन्ट शान्ती राईले जानकारी दिनुभयो ।

उक्त स्वास्थ्य चौकीमा दुई जना अहेब, दुई जना अनमी र एक जना हेल्थ असिस्टेन्टको दरबन्दी रहेको छ । जसमा एक जना अहेबको दरबन्दी खाली छ । अन्य सबै कर्मचारीहरुलाई दुधकोशी सामुदायिक अस्पतालमा हाजिर गराउन थालिएको छ ।

स्वास्थ्य चौकीबाट निःशुल्क पाउने औषधीहरु समेत अस्पतालमा खरिद गर्न लगाएर नागरिक ठग्ने धन्दा चलाएको भन्दै स्थानीयले गाउँपालिकामा ध्यानार्कषण पत्र नै पेस गरेको पुर्व वडाध्यक्ष फूर्तीमान तामाङले बताउनुभयो । नागरिकको सहजताका लागि भनेर गाउँमै स्थापना गरिएको सरकारी स्वास्थ्य संस्थाका कर्मचारी गैरसरकारी संस्थामा हाजिर गराएर पालिकाले आफुहरु माथि अन्याय गराएको अर्का स्थानीय खेम बहादुर गुरुङले बताउनुभयो ।

उहाँले भन्नुभयो, “स्वास्थ्य चौकीमा निःशुल्क पाइने सिटामोल समेत अस्पतालमा किन्न लगाउइएको छ, यस्ता जनता ठग्ने कार्य बन्द नगरे आफुहरु आन्दोलनमा जान बाध्य हुने छौ ।” स्वास्थ्य चौकी र अस्पताल करिब आधा घण्टाको पैदल दुरीमा रहेको मुक्लीका नन्दराज गुरुङले बताउनुभयो । सरकारी कर्मचारी गाउँपालिकाको ठाडो निर्देशनमा गैरसरकारी संस्थामा हाजिर गराएको उहाँको आरोप छ ।

गाउँपालिकाले स्थानीयबाट सहयोग संकलन गरेर निर्माण गरेको उक्त अस्पताल ५० बेडको भन्दै पालिकाले उद्घाटन गरेको थियो ।  यता गाउँपालिकाले भने पालिका १५ बेडसम्मको अस्पताल पालिकाले अनुमती दिन मिल्ने भएकाले नाम परिवर्तन गरेर थुलुङ दुधकोशी अस्पताल निर्माण गरेको बताएको छ ।

तत्कालिन दुधकोशी सामुदायिक अस्पताल सञ्चालक समितिले अस्पताल सञ्चालन गर्न नसक्ने भन्दै गाउँपालिकालाई जिम्मा दिएपनि पालिकाले आफु मातहत ल्याएर १५ बेडको सरकारी अस्पताल सञ्चालन गरेको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले बताउनुभयो । सरकारी अस्पताल भइसकेकाले स्वास्थ्य चौकीका कर्मचारी स्थानान्तरण गरिएको उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार