सोलुका आमा, छोरी र नातिनीको काठमाण्डौँमा हत्या, श्रीमान् झुन्डिएको अवस्थामा भेटिए

  हिमाल समाचार
3.1k Shares

सोलुखुम्बु – काठमाण्डौको सीतापाइलामा एक छोरी र नातिनीसहित कोठामै मृत भेटिएकी महिलाका श्रीमान् पनि नजिकैको जङ्गलमा झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । बिहान आठ वर्षीया छोरी र दुई वर्षीया नातिनी र झण्डै ३८ वर्षकी महिला कोठामै मृत भेटिएका थिए ।

अनुसन्धानका क्रममा ती महिलाका श्रीमान् सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–६ खोरिया घर भइ नागार्जुन नगरपालिका–६ बस्ने राजु घिमिरे भन्ने काजी विक पनि मृत भेटिएका जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

विकले श्रीमती ईश्वरी श्रेष्ठसहित छोरी र नातिनीको हत्यापछि आफूले आत्महत्या गरेको प्रारम्भिक अनुमान रहेको र थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिनुभयो ।

स्थानीयले काजी झुण्डिएको अवस्थामा देखेपछि प्रहरी कन्ट्रोलमा खबर गरिएसँगै जिल्ला प्रहरी परिसरको टोली घटनास्थलमा पुगेको थियो । घटनास्थलमा प्रहरी पुग्दा उनको मृत्यु भइसकेको थियो । स्थनीय सुधा तामाङले घटना देखेपछि बुधबार बिहान ११ बजेर १२ मिनेटमा प्रहरीलाई खबर गरेकी थिइन् ।

सीतापाइलामा रहेका श्रीमतीसहित दुई बालिकाको हत्या पछि उनी आत्महत्या गर्न भनेर हिँडेका थिए । काजीले ३८ वर्षीया श्रीमती ईश्वरी श्रेष्ठ, ८ वर्षकी अनिशा विक र साढे २ वर्षकी सिवानी श्रेष्ठको हत्या गरेका हुन् ।

अनिशा ईश्वरीकी छोरी हुन् भने सिवानी नातिनी हुन् । ईश्वरीले काजीसँग दोस्रो विहे गरेको र शिवानी उनको यसअघिका श्रीमानबाट जन्मेका छोराको छोरी रहेको प्रहरीको भनाइ छ ।

पारिवारिक कलहले यो घटना निम्तिएको आशंका गरिएको छ । यसबारे प्रहरीले अनुसन्धान तीव्र बनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार